पदाधिकारी बैठकमै जसपा नेताहरूको चर्काचर्की
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच बैठकमा चर्काचर्की भएको छ । नयाँ सरकार बनाउने छलफलमा जुटेका शिर्ष नेताहरूबीच चर्काचर्की भएको बताइएको छ ।
आइतबार बसेको पदाधिकारी बैठकमा भावी सत्ता समीकरणलाई लिएर शीर्ष नेताबीच विवाद उत्कर्षमा पुगेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । भावी सत्ता समीकरणमा निर्णायक रहेको जसपाले के निर्णय गर्ला भन्ने सर्वत्र चासो भैरहेका बेला जसपामा भने विवाद कायमै रहेको छ ।
जसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्नुपर्ने अडानमै रहेपछि विवाद चर्किएको थियो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ भन्दै कड्किएका थिए ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठकमा जसपाका नेताहरुले आन्तरिक छलफल गरेर सत्ता समीकरणबारे निर्णय लिइने बताएका थिए । त्यसैअनुसार जसपाका शीर्ष नेताहरुको बैठक बसेको हो । तर, भावी गठबन्धन ओलीसँगै वा ओलीविरोधी दलहरुसँग भन्नेमा जसपाका नेताको मत विभाजित भएको हो ।
बैठकको सुरुमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग भएको वार्ता सकारात्मक रहेको र उनले आफूहरुका माग सम्बोधनका लागि प्रक्रियासमेत थालेको बताएका थिए । नेता ठाकुरले अहिले अहिले हतारमा केही निर्णय गर्दा सबै तिर बिग्रने डर भएको समेत बताएका थिए। ओलीले आफ्ना सम्बोधनको प्रक्रिया थालेकाले केही समय पर्खनुपर्ने उनको जोड थियो ।
अर्का नेता महतोले पनि माग पूरा हुने दिशातिर गएका बेला त्यसलाई प्रभावित पार्ने खालका अन्य निर्णय लिन नहुने बताएका थिए । उनले अहिले जसपाको माग पुरा हुने क्रममा रहेकाले तत्काल कुनै निर्णय लिन नहुने बताएका थिए । अहिले निर्णय लिनैपरे ओलेकै पक्षमा लिनुपर्ने ठाकुर र महतोले जोड गरेका थिए ।
बैठकमा भट्टराई र यादव भने उनीहरूको विपरित उभिएका थिए । प्रतिगमनका मतियार ओलीसँग सहकार्य सम्भव नहुने र गर्नपनि नहुने उनीहरूको जोड थियो ।