के जसपाले गठबन्धन छोडेको हो ? - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

के जसपाले गठबन्धन छोडेको हो ?



काठमाडौँ- सत्तारुढ गठबन्धनको बिहिबार सांझा पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नजाने भएको छ ।

एमसीसी सम्झौता प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव नजाने भएका हुन् ।

अध्यक्ष यादव पछिल्लो समय गठबन्धनसँग असन्तुष्ट रहेको चर्चाबीच उनी बैठकमा नजाने भएपछि गठबन्धन छोडेको आशंका उत्पन्न भएको छ । एमसीसी लगायतका विषयमा यादवले असन्तुष्टि जनाएका थिए ।

जसपाका नेता प्रमोद साहका अनुसार पार्टी कामका लागि यादव मधेश प्रदेशमा व्यस्त रहेकाले आजको बैठकमा सहभागी नहुने भएका हुन् । ‘अध्यक्ष उपेन्द्र यादवज्यू गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ साहको भनाइ छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका (एकीकृत समाजवादी), जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो । सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र यथास्थितिमा एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल संशोधन गरेर मात्र अगाडि बढाउनुपर्ने अडानमा छन् ।