एक वर्षमै फुट्यो जसपा
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) एकता भएको एक वर्षमै बिभाजन भएको छ । जसपाले पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निश्कासन गरेसङ्गै एक बर्षअगाडि जुटेको पार्टी फुटेको छ । आज बसेको पार्टी कार्यकारिणी समितिको बैठकले ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निश्कासन गरेको हो ।
वर्तमान सरकारमा जाने कि वैकल्पिक सरकार बनाउने भन्नेमा जसपामा लामो समयदेखि विवाद छ । विवादकै बीच ठाकुर समूहले ओली सरकारमा सहभागी हुने तयारी गरेपछि चारै नेतामाथि अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोधेका थिए ।
यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निश्कासनमा पर्ने निर्णय गरेको थियो । उक्त निर्णयविपरित ठाकुर समूह सरकारमा जाने तयारीका साथ बालुवाटारको भेटघाटमा व्यस्त रहेकै बेला जेठ १५ गते यादवले चारै जनालाई पुन: स्पष्टिकरण सोधेका थिए ।
तर, उनीहरुले स्पष्टिकरणको जवाफ नदिएकाले बैठकले निश्कासनको निर्णय गरेको बताइएको छ । पटक-पटक स्पष्टिकरण सोध्दा पनि चार नेताले जवाफ नदिएपछि कारवाही गरिएको बताइएको छ ।
एक अर्कामाथि स्पष्टिकरण हुँदै निष्काशनको निर्णय सम्म पुगेपछि जसपा फुटेको हो । औपचारिक फुटपछि जसपा पुरानै अवस्थामा फर्कने निश्चित जस्तै भएको छ । ठाकुर समूहले राजपा र यादव समूहले जसपा नै चलाएर बढ्ने तयारी गरिसकेका छन् ।
यसअघि ठाकुर समूहले पनि अध्यक्ष यादवलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । जसपाको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने बिघटित प्रतिनिधि सभातर्फ सांसदहरुको संख्या ठाकुरसँग बढी छ ।
पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारीमा रहेको महन्थ समूहसँग केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या अहिले पनि छ । तर, प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा रहेका तीन सांसदमध्ये दुई जना उपेन्द्रतिर लागेपछि संसदीय दलमा भने महन्थलाई ४० प्रतिशत पुराउन नसक्ने अवस्था छ ।