सांसदको टाउको फुटाउने एमाले कार्यकर्तालाई कडा कारबाही गर्न जसपाको माग - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

सांसदको टाउको फुटाउने एमाले कार्यकर्तालाई कडा कारबाही गर्न जसपाको माग



काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा (एमाले)का कार्यकर्ताले सांसद साहमाथि सांघातिक हमला गरी गम्भीर घाइते बनाएको जसपाले जनाएको छ ।

“पार्टी कामको सिलसिलामा गृहजिल्ला पुग्नुभएका मा. साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाई उहाँलगायत दर्जनौँ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ,” केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साथै, नेकपा (एमाले)ले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा (एमाले) हुनेछ ।”

घटनाका दोषीमाथि कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग माग पनि गरिएको छ ।

यस्तै, घटनामा घाइते भएका साहसहित सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । घाइतेहरूको उचित स्वास्थ्योपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरिएको छ ।