जसपाका दुवै समूह आयोगमा पुगे, राजकिशोरले गरे कित्ता परिवर्तन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

जसपाका दुवै समूह आयोगमा पुगे, राजकिशोरले गरे कित्ता परिवर्तन



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखतका लागि दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचन आयोग पुगेका छन्।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्य आयोग पुगेका हुन्। दुवै पक्षलाई सनाखतका लागि नागरिकता सहित उपस्थित हुन आयोगको इजलासले आदेश दिएको थियो।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुरको पक्षमा १९ र यादवको पक्षमा ३२ जना देखिएका छन्। तर, दुवै पक्षले आफूसँग बहुमत सदस्य रहेको भन्दै आयोगमा आधिकारिकताका लागि दाबी गरेका थिए।दुवै पक्षले गरेको दाबी अनुसार सनाखत गर्न आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको हो। नागरिकता बोकेर दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य आयोग पुगेका छन्।

उनीहरूको सनाखत गरेपछि आयोगको इजलासले फैसला गर्नेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियोको नेतृत्वमा गठिन पाँच सदस्यीय इजलासले एक सातादेखि सुनुवाइ गरिरहेको छ।

राजकिशोर उपेन्द्र समूहमै

जसपा अध्यक्ष ठाकुर पक्षका नेता राजकिशोर यादव अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा देखिएका छन्।

सोमबार निर्वाचन आयोगमा पुगेर उनले अध्यक्ष यादव पक्षमै हस्ताक्षर गरेका छन्। निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको थियो।

दुवै पक्षहरूका लागि आयोगले छुट्टाछुट्टै ठाउँमा हस्ताक्षर गर्ने व्यवस्था गरेको छ। उनले यादव पक्षका लागि व्यवस्था गरिएको ठाउँमा गएर हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,  “म एकताको पक्षमा छु, जसपाको मूलधारसँग छु।” उनले यादव पक्षलाई जसपाको मूलधार भएको जिकिर गरेका छन्। यसअघि उनी अध्यक्ष ठाकुर पक्षमा थिए।

निर्वाचन आयोगको इजलासले आज दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्दै छ। सनाखत सकिएपछि आयोगको इजलासले फैसला सुनाउने भएको छ।