प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेललाई खुल्ला पत्र ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेललाई खुल्ला पत्र !



सम्माननीय  प्रधानमन्त्री केपी ओली,
सम्माननीय  शिक्षामन्त्री गिरिराज मणि पोखरेल ज्यु

नमस्कार। मेरो नाम हेमराज थापा,तपाईँहरू यति बेला कता हुनुहुन्छ मलाइ थाहा छैन तर म र मेरा दुइजना साथीहरू(राजन लम्साल र मिलन बास्तोला)तपाईँहरूको प्रशासनिक निकाय सिँहदरबार नजिकैको माइतीघर मण्डेलाको बिच चोकमा टेन्ट मुनि करिब तीन दिन देखि पानी सम्म नखायर अलिकति बचेको ताकत लिएर यो चिठी लेख्दै छौँ।माननीय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु हामी कति अभागी है? जलश्रोतको धनी हाम्रो देशमा हामीले तीन दिन देखि पानी सम्म खान पायका छैनौँ।प्राकृतिक स्रोतको धनी हाम्रो देशको राजधानीको मुटु मानिने यो माइतीघर मण्डेलामा तीन दिन देखि तपाईँहरू र तपाईँहरूका सरकारी मान्छेका मोटरहरूले उत्सर्जन गर्ने कार्बोन मोनोअक्साइडको धुवाँ खाँदै सडकमा बेजोड दौडिने सपनातित मान्छेहरू र गाडिएका लस्कर हेरेर ढलिरहेछौँ।

मानननिय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु,यदि पहुँच हुँदो हो त हामी पनि तपाईँहरूको साम्राज्य चल्ने सिँहदरबार र बालुवाटार भित्रै पसेर हाम्रो कुरा राख्ने थियौँ तर हाम्रो भाग्य कहाँ छर?माननीय ज्यु, तपाईँहरूको महानगर काठमाडौँ देखि निकै सुदुरको बाजुरामा म जन्मियको हुँ,म सानै हुँदा देखि सम्झिन्छु मेरा बाले मलाइ एक छाक खुवाउन हलो जोतेको , त्यो दिन देखि आजका मिति सम्म मेरा बाले हलो नै जोति राख्नु भयको छ।मेरा बाले हलो नै जोतेर मलाइ सरकारी स्कुल पठाएर मुलुकको अग्रणी शैक्षिक संस्था त्रिभुवन बिस्वबिध्यालय सम्म पठाउनु भयको छ किनकि मेरो छोराले केही पढोस् र समाजमा केही असल काम गरोस् भन्ने सोच जो छ वाँहाको।न ठुलो नेता बन्नु छ न मन्त्री प्रधानमन्त्री बन्नु छ वाँहाको सपना यत्ति छ जिन्दगीका ५ दशक हलो जोतेर बिताइयो अब छोरोले पढिसकेपछी हलो जोत्न नपरोस,जीवनका उत्तरार्ध कालमा रगत सुकिसकेका बुढा हड्डीले खुसीले आराम गर्न पाउँ भन्ने चाहाना मात्रै छ।

म सानोमा कसरी हुर्केँ ,मैले कसरी पढेँ म कसरी त्रिभुवन बिस्वबिध्यालय सम्म आइपुगेँ त्यो सबै कथा म यहाँहरूलाई बताउन सक्दिन किनकि मसँग धेरै लेख्ने तागत छैन।आज मसँग हुर्कियका मेरा धेरै दौँतरी भारतका गल्लीहरूमा यो चिसो रातमा सिटी र डण्डा फुक्दै छ्न,मसँगै १० कक्षा सम्म पढेका मेरा दौँतरी हरू अरबकको बालुवामा आफ्ना पसिनाले सिँचाइ गर्दैछन ,अनि मेरा हजारौँ दौँतरीहरू कोरियाका उराठ लाग्दा ठाउँहरूमा आफ्ना औँलाहरु खियाउँदैछ्न। मलाइ थाहा छैन सम्माननिय प्राधानमन्त्री र शिक्षा मन्त्री ज्यु तपाईँहरूका सन्तती र आफन्त यो समयमा के गर्दै हुनुहुन्छ?

मेरा युवा दौँतरीहरू कसरी विदेश जानू भो ? हामी कसरी यति दुखी भयौँ त्यसको लेखाजोखा न तपाईँहरू सँग छ न मसँग छ।बस चुपचाप समय चलिरह्यो हामीले सही रह्यौँ।समयले मलाइ बाजुरादेखी उडाउँदै तपाईँहरूको प्यारो आलिसान सहर काठमाडौँ सम्म ल्यायो, स्नातकोत्तर तहमा टियुमा भर्ना पनि भएँ तर अचानक अघिल्लो सरकारका शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा सम्बन्धी यौटा यस्तो नियम संसद् बाट पारित गरे जसले म र मेरा उमेरका करिब १० लाख युवा बिध्यार्थिहरु छाँगाबाट खसे जस्ता भयौँ।हामीले खुप दुख गरेर पढेउँ, सर्टिफिकेट लियौँ अनि तपाईँहरूकै सरकारी निकायबाट अध्यापन अनुमति पत्र पनि लियौँ तर उक्त सरकारले गरेको शिक्षा ऎनको नवौँ संशोधनले हाम्रा सपना, हाम्रा सर्टिफिकेट अनि अध्यापन अनुमति पत्र माथि डढेलो लागेजस्तो बनायो।

सम्माननिय प्रधानमन्त्री र शिक्षा मन्त्री ज्यु न मैले कसैको विरोध गर्नु छ न कसैको समर्थन गर्नु छ ,यहाँहरूलाई अवगतै होला चैत्र २३ गते शिक्षक सेवा आयोगले एक परीक्षा लिँदै छ उक्त परीक्षामा म र म जस्तै करिब ७ लाख युवा साथीहरू परीक्षा दिन पाउँदै छैनन्।तपाईँहरूको सरकारले जीवनभर हामीलाई परीक्षा दिन सिकायो तर यो परीक्षा बन्चित किन गराइयो?के म थाहा पाउन सक्छु?हामीलाई दिइयको अध्यापन अनुमति पत्रको के अर्थ?हामीले खुप दुख गरी कमायको सर्टिफिकेटको के अर्थ?

हामीलाई नेपाल निकै प्यारो लाग्छ ,हामी नेपाललाई आमा जत्तिकै माया गर्छौँ,यदि हामीले हाम्रा सर्टिफिकेटलाई नेपाल भित्रै बेच्न पाएनौँ भने ,हामीले सिकेको कुरा हाम्रा हज्जारौं साना साना भविष्य जस्तै प्यारा बालबालिकालाई बाँड्न पाएनौँ भने हामी यी हाम्रा सर्टिफिकेट लिएर कुन ठाउँ जाउँला?यति प्यारो नेपाललाई यहीँ छोडेर हाम्रा सर्टिफिकेटलाई खिया लागेको बाकसमा राखेर अरब जान मन छैन।

हामीलाई शिक्षक नबनाउनुस् हामी मजदुर बनौँला तर कृपया हाम्रो देशका करिब ७२लाख बालबालिकाको भविष्यका लागि त सोचिदिनुस्।यति प्यारो नेपालमा उनीहरूलाई तालिम प्राप्त मान्छे बाट ज्ञान लिने अवसर नखोस्नुस् न है ।

धेरै कुरा के भनूँ सानो मान्छे ठुलो कुरा जस्तै होला, तीन दिन देखिको भोकले शरीरको तागत सकियको छ के लेखेँ लेखिन थाह पाउँदिन।हामी यत्ति भन्न खोज्दै छौँ कि चैत्र २३ गतेको शिक्षा सेवा आयोगको परीक्षा स्थगित गरिदिनु अनि शिक्षा ऎनको नवौँ संशोधन खारेज गरिदिनु र १००% खुला विज्ञापन गरिदिनु तपाईँहरूलाई म ,मेरो पुस्ता र भावी नेपालले युगौं युग सम्म सम्झिने छौँ।

थाहा छैन तपाईँहरू समक्ष यो खबर पुग्छ पुदैन यदि खबर पुगेछ भने सम्झिनु हामी तपाईँहरूको प्यारो सिँहदरबार नजिकैको माइतीघर मन्डेलामा तपाईँलाई यही खबर सुनाउन भोकभोकै आमरण अनसन बसेका छौँ ।रात परपर जाँदैछ खस्किँदो शरीर ,पेटको आगो र गाडीको आवाजले निद्रा बिथोलेको रात छ। जो जो ले यो सन्देश पाउनु हुन्छ कृपया सेयर गरेर प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सम्म पुर्‍याउन सहयोग गरिदिनु।

तपाईँको शुभेच्छुक
अनसनरत हेम राज थापा
माइतीघर मन्डला काठमाडौँ ।