मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने



जापान– जापानी राजा आकिहितोले राजगद्दी त्याग गरेसँगै मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने भएका छन् । मंगलबार जापानी राजा आकिहातोले राजगद्दी त्याग्ने घोषणा गरेसँगै नारुहितो राजा हुने भएका हुन् ।

गद्दी सम्हालेपछि नारुहितो जापानको १२६ औँ सम्राट हुनेछन् । उनले गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ । नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुने छन् । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।

अहिलेका राजा ८५ वर्षीय आकिहितोले केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउँदै आएका थिए ।

जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुनेभएपछि यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका हुन् ।

सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गरेका हुन् । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ ।

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताएका थिए । जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो ।