जापानमा नेपाली युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

जापानमा नेपाली युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि



टोकियो: जापानमा कोरोना भाइरसबाट पहिलो पटक नेपाली नागरिक संक्रमित भएको पाइएको छ ।

जापानको ईबाराकी केनमा बस्दै आएकी एक नेपाली युवती कोरोना भाइरसबाट संक्रमित पाइएको हो ।

नेपाली राजदूतावास जापानले घटनाको पुष्टि गर्दै संक्रमित व्यक्ति हाल अस्पतालमा उपचाररत रहेको र अवस्था सामान्य रहेको कारोबार दैनिकलाई जानकारी दिएको छ ।

जापानमा पहिलो पटक नेपाली नागरिक कोरोना भाईरसबाट संक्रमित भएको जनाउँदै नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले घटना सार्वजनिक लगत्तै दूतावास संक्रमित व्यक्ति र परिवारको सम्पर्कमा रहेको जानकारी दिए ।

परिवारको साथमा बस्दै आएकी युवती गत वर्ष जापानको अध्ययनपछि कामदारको रुपमा भिषा परिवर्तन गर्दै एक वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्दै आएकी थिइन् । काम गर्ने ठाउँबाट नै संक्रमित हुन पुगेकी उनको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

परिवारका सबै सदस्य हाल संक्रमण आशंकामा घरमै सेल्फ क्वारेनटाईनमा रहेका छन् । संक्रमित २० बर्षिय युवतिमा संक्रमणको मात्रा न्यून देखिएको र स्वास्थ्यमा कुनैपनि समस्या नरहेको अस्पताललाई उद्धृत गर्दै नेपाली राजदूतावास टोकियोले जानकारी दिएको छ ।

परिवारका सदस्यहरुमा हाल संक्रमण नपाईएपनि १४ दिनको लागि क्वारेन्टाईनमा बस्न स्थानिय अधिकारीहरुले भनेका छन् ।

जापानमा करिव १ लाखको संख्यामा रहेका नेपालीहरुमा कोरोना भाईरसको संक्रमण पाईएको यो नै पहिलो घटना हो ।

जापानमा अप्रिल ३ तारिख शुक्रबार सम्ममा कोरोना भाईरसबाट संक्रमितको संख्या ३५ सय नाघेको छ ।

हालसम्म ८३ जनाले ज्यान गुमाईसकेको कोरोना संक्रमणबाट राजधानी टोकियोमा मात्रै ६ सय बढी संक्रमित भेटिएका छन् ।

नेपालीमा पनि संक्रमण भेटिएपछि जापानमा रहेका नेपालीहरुमा थप त्रास उत्पन्न भएको देखिएको छ ।

एक महिना देखी व्यापार, व्यवसाय सहित कार्यस्थलमा कोरोना संक्रमणले समस्या झेल्दै आएका नेपालीहरुमा आफ्नो समुदायमा पनि संक्रमण फैलने चिन्ता देखिएको छ ।