जापान बस्ने सबैलाई काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

जापान बस्ने सबैलाई काेभिड-१९ विरूद्धकाे खोप निःशुल्क



जापान- जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।

दैनिकरूपमा कोरोना भाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ।

जापान सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ।

त्यसैगरी १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन्।

फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन्। चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ।

जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो।

तुलनात्मकरूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ। जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन्।

त्यसैगरी जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागू गरेको देखिएको छैन। तर, पनि महामारी अहिले तेस्रो पटक फैलिएको हो। सङ्क्रमितहरू भने भेटिइरहेका छन्। रासस