भ्रष्टाचारीलाई जन्मकैद गर्न प्रदेश प्रमुखले नै उठाए आवाज - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

भ्रष्टाचारीलाई जन्मकैद गर्न प्रदेश प्रमुखले नै उठाए आवाज



काठमाडौं- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार सबैभन्दा ठुलो सामाजिक रोग बनेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुझाएको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले भ्रष्टाचार निर्मुल पार्न जन्मकैद जस्तै कडा कानुन बनाउनुपर्ने बताए ।

प्रदेश प्रमुख शेरचनले नेपालीहरुले विदेशमा दुःख पाएर कमाएको रकमबाट तिरेको करमा भ्रष्टाचार गर्नु जघन्य अपराध भएको बताए । भ्रष्टाचारकै कारण ठुला आयोजनाहरु समयमा सम्पन्‍न हुन नसकेको उनको भनाइ छ ।

आयोगका बुटवल कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेले सबैभन्दा बढी उजुरी स्थानीय तहमा भएका अनियमितताका सम्बन्धमा आएको बताए । अख्तियारका अनुसार जिल्लागत रुपमा रुपन्देही जिल्लाबाट सबैभन्दा बढी ४४९ वटा उजुरी परेका छन् । यस्तै कपिलवस्तु जिल्लाबाट २३४ वटा, नवलपरासीबाट १४७ वटा उजुरी दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कुल एक हजार २६८ उजुरी दर्ता भएकोमा ९ सय उजुरी फर्छ्यौट भएको जनाइएको छ । अख्तियारको बुटवल कार्यालय प्रमुख पाण्डेका अनुसार प्रारम्भिक छानबिन र विस्तृत अनुसन्धानबाट गत आर्थिक वर्षमा कुल एक करोड ४९ लाख ९७ हजार ८७० रुपैयाँ राजश्व पुनः प्राप्ति भएको छ ।