ढुक्क हुनुहोस् अब जङ्गल जान्न – प्रचण्ड
काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले अब आफू जङ्गल नजाने बताएका छन् । काठमाडौँको सीतापाइलामा नारायण पोखरेल प्रतिष्ठानद्वारा आयोजित गीताज्ञान महानुष्ठानको शुभारम्भ गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
आइतबार मात्रै एक कार्यक्रममा जङ्गल जान सक्ने बताएका प्रचण्डले सोमबार एकाएक आफू जङ्गल नजाने प्रष्ट पार्दै भने, मैले हिजोको कार्यक्रममा जङ्गल जान्छु र युद्धको बाटो समात्छु भनेको होइन, बरु सबै नेपाली जनता जङ्गल जाने अवस्था सिर्जना भए म पनि जान्छु भनेको हुँ । देश र जनताका लागि आवश्यक परे सबै त्यागेर जङ्गल जान तयार छु भनेको हो । यो भनेको युद्ध वा क्रान्तिका लागि जङ्गल जान्छु भनेको पटक्कै
होइन ।
अब युद्ध होइन बुद्धको बाटो
प्रचण्डले कार्यक्रममा आफू हिंसाविरोधी भएको पनि बताएका छन् । आफू बुद्धको अनुयायी भएकोले हिंसा गलत भएको टिप्पणी गर्दै आफूहरूले विगतमा ठूलो त्याग गरेको र अब कुनै पनि बहानामा हिंसा र लडाइँ आवश्यक नभएको पनि स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले गीता भनेको ग्रन्थ मात्र नभएर सिङ्गो पाठशाला भएको र आध्यात्मिक तथा भौतिकवादी ज्ञानको भण्डार भनी बताए ।
बद्रीनारायण धामको सहयोगार्थ सञ्चालन गरिएको ऐतिहासिक गीताज्ञान महानुष्ठान आगामी ३० गते सम्म चल्ने छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला, सांसद जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, पूर्वमन्त्री नविन्द्रराज जोशी लगायतको उपस्थिति थियो ।