जनताको पक्षमा काम गर्न नसके कम्युनिष्ट वा काँग्रेस कुनै पार्टीको काम छैन :प्रचण्ड
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अब १० वर्ष सक्रिय राजनीतिमा रहने बताएका छन् ।
नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले अबको १० वर्ष मुलुकको विकास र समृद्धिमा समर्पित हुने घोषणा गरे । मानिसको जीवनको भर नहुने भन्दै उनले यथास्थितिमा एक दशक मुलुकको सेवामा बिताउने बताए । ‘मान्छेको जीवनको भर त हुँदैन’, उनले भने, ‘म जीवनको उत्तरार्धमा छु, राष्ट्रको सेवा गर्न अब एक दशक होलाजस्तो लाग्छ ।’
प्रचण्डले आफ्नो जीवनले हरेक १० वर्ष पार गर्दा मुलुकमा ठूल्ठूला परिवर्तन हुने गरेको चर्चा गर्दै अबको १० वर्ष नेपाली जनताको जीवनमा आर्थिक परिवर्तन र मुलुकको समृद्धिका लागि सदुपयोग गर्ने प्रण गरे । आफूलाई हिमाल, पहाड, तराईका साथै महिला, जनजातिसहित सबै उत्पीडित समुदायले विश्वास गरेको दाबी गर्दै प्रचण्डले उनीहरुको विश्वासको गुण तिर्न समृद्धिको यात्रामा समाहित हुने प्रतिबद्धता जनाए । आफ्ना जीवनका धेरै खुसी र धेरै पीडादायी दिनहरुको स्मरण गर्दै प्रचण्डले मुलुकबाहेक अरुका लागि केही गर्नु नरहेको उल्लेख गरे ।
प्रचण्डले ठूलो बलिदानबाट प्राप्त अहिलेको राजनीतिक परिवर्तन संस्थागत हुनै बाँकी रहेको चर्चा गर्दै परिवर्तनले जनताको जीवनमा परिवर्तन नल्याएसम्म त्यसको औचित्यमा प्रश्न उठिराख्ने स्पष्ट गरे । ‘जबसम्म परिवर्तनले जनताको जीवनमा सकारात्मक परिवर्तन गरेको महसुस हुँदैन तबसम्म जनताले यी चिजलाई महत्व दिँदैन’, उनले भने, ‘केहो, केहो भन्याजस्तो फेरि पनि छ ।’ जनताको पक्षमा काम गर्न नसके कम्युनिष्ट वा काँग्रेस कुनै पार्टीको औचित्य नहुने उनको स्पष्टोक्ति छ । दुई तिहाईको वर्तमान सरकारले जनताका पक्षमा देखिने गरी काम गर्न नसके परिणाम उल्टो आउनेतर्फ बेलैमा सचेत हुनुपर्ने प्रचण्डले बताए ।