जनतालाई आतंकित पार्ने सरकारी निर्णय तुरुन्त फिर्ता गर: नेता नेपाल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

जनतालाई आतंकित पार्ने सरकारी निर्णय तुरुन्त फिर्ता गर: नेता नेपाल



काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाबाट संक्रमित नागरिकको निशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।

नागरिकको उपचारबाट हात झिक्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ नेकपाकै शीर्ष नेता नेपालले पनि उक्त निर्णय फिर्ता लिएर आफ्नो जिम्मेवारी पूरा गर्न सरकारलाई सुझाव दिएका हुन्।

संविधान र कानुनीले आम नागरिकलाई सरुवा रोगको उपचार निशुल्क रुपमा पाउने मौलिक हकको सुनिश्चिता गरेको अवस्थामा सरकारी निर्णयबाट उक्त अधिकार नखोस्न उनले ध्यानाकर्षण गराएका छन्।

नेपाल आफैँले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘संक्रामक रोग सम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन्, भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नु पर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु।’

नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार भए पनि पार्टीको बैठक नराखिएको हुँदा विज्ञप्तिमार्फत नै नेता नेपालले आफ्नो धारणा सार्वजनिक गरेको उनको सचिवालयले जनाएको छ।

नेपालले गरिब, निमुखा र बेरोजगारी नागरिकप्रति संवेदनशील बन्नसमेत सरकारलाई सुझाव दिएका छन्। नागरिकलाई समान उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नसक्ने नेपालको भनाइ छ।

‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ। यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन, नेपालले अगाडि भनेका छन्,

‘त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो।’