महामारी नियन्त्रणका लागि सरकारलाई जनार्दन शर्माका ६ सुझाव - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

महामारी नियन्त्रणका लागि सरकारलाई जनार्दन शर्माका ६ सुझाव



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारलाई ६ सुझाव दिएका छन्। कोरोना संक्रमण ह्वात्तै बढ्दै गएका बेला गम्भीर बन्न शर्माले सरकारको ध्यानाकषर्ण गराएका हुन्।

उनले कोरोना संक्रमित बिरामीको उपचारका लागि आईसीयू र अक्सिजनको व्यवस्थापनसँगै चिकित्सकहरूलाई सक्रिय बनाउन आग्रह गरेका छन्। देशभरका सरकारी तथा निजी अस्पतालको क्षमता आकलन गरी ७० प्रतिशत कोरोना बिरामीको उपचारका लागि बेड छुट्याउनुपर्ने बताएका छन्।

उनले अक्सिजन प्लान्टहरू सञ्चालन गर्ने, नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्नुपर्ने शर्माले सुझाव दिएका छन्।

जनार्दन शर्माले सरकारलाई दिएका सुझाव यस्ता छन्:

महामारी बारे सरकारको ध्यानाकर्षण !!

कोभिडको विश्वव्यापी महामारीसँगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आईसीयू,अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भइ उपचारमा गम्भीर समस्या पैदा भइरहेको छ।

डाक्टर तथा स्वास्थ्यकर्मीहरूले उपचारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भएपनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनु पर्ने आवश्यक छ। देशका कतिपय अस्पतालमा ओपीडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु ।

१) देशभरका सरकारी तथा निजी सबै अस्पतालसँग भएको उपचार क्षमताको आकलन गर्ने। अस्पतालका सञ्चालक तथा डाक्टरहरूसँग सहकार्य गरि ७० प्रतिशत कोभिड उपचारको लागि छुट्याउने।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने, सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्ने।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि (Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने। सबै पालिकाहरूमा सामान्य बिरामीको अक्सिजनसहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।
४) देशभर उपलब्ध डाक्टरहरूको संख्या कति छ यकिन गरि कर्णाली, सुप जस्ता दुर्गम क्षेत्रसहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने।
५) आईसीयू इक्युपमेन्ट, अक्सिजन प्लान्ट लगायतका इक्युपमेन्टरू हवाई मार्गमार्फत् तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने।
६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टरलगायत जोखिमका क्षेत्रहरूमा काम गर्ने सबैका लागि १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने।