जनार्दनको प्रस्ताव: काठमाडौं जस्तै तीन वटा ठूला सहर निर्माण गरौँ - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

जनार्दनको प्रस्ताव: काठमाडौं जस्तै तीन वटा ठूला सहर निर्माण गरौँ



काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्।

लगानी बोर्डको आजको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औंल्याएका हुन्।

उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए। उनले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माणको आवश्यकतामा जोड दिए।

“काठमाडौं सहरको नयाँ भर्सन चाहियो। दूरदराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ सहर बन्दो रहेछ”, उनले भने, “नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।”

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योग लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए। पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजना अघि सार्न लगानी बोर्डलाई निर्देशन दिए। त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए। “बूढीगण्डकी, माथिल्लो अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईंहरूले ध्यान दिनुहोस्”, उनले भने।