वाइसिएललाई अर्थमन्त्री शर्माको निर्देशन: कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउनु
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।
वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् । ‘कार्यकारी प्रमुखको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा बाँकी छन् । ती मुद्दाहरूलाई समातेर अगाडि बढ्नुस्,’ उनले भने ।
वाईसीएल मुद्दा विहीन बनेमा जीवन्त नहुने शर्माको भनाइ थियो । उनले विगतमा पार्टीले उठाउँदै आएका र पूरा हुन नसकेका मुद्दालाई फेरि उठाउनुपर्ने बताए ।
२०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको थियो । तर संविधान निर्माणका क्रममा सहमति गर्दै माओवादी कार्यकारी प्रधानमन्त्रीको पक्षमा लागेको थियो ।
वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर अघि बढ्नुपर्ने शर्माको भनाइ थियो । उनले संगठनलाई विस्तार गर्दै सदस्यलाई रोजगारी र उत्पादनमा जोड्ने योजना ल्याउन सुझाव दिए ।
संगठनले तय गरेका नारालाई कार्यान्वयन गर्न र गुटबन्दी नगरी सहमति गरेर अघि बढ्न पनि शर्माले निर्देशन दिएका छन् । उनले सहमतिका आधारमा नै संगठनमा कार्यविभाजन गर्नका लागि सुझाव दिए ।