जनार्दन भन्छन: पार्टी विभाजन गर्नेहरूले दुष्प्रचार गरे - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

जनार्दन भन्छन: पार्टी विभाजन गर्नेहरूले दुष्प्रचार गरे



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चलिरहेकै बेला प्रभावशाली मानिने नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन र विभाजन गर्नकै लागि दुष्प्रचार भइरहेको बताएका छन् ।

शर्माले पार्टी विभाजन गर्नकै लागि केहि तह र तप्काले दुष्प्रचार गर्ने गरेको र एकता उनीहरूले नरुचाएको संकेत गरेका चाहन । पार्टी एकताका कुरालाई कतिपयले नरुचाएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत नेता शर्माले भनेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति ।’

उनले पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्देलित भएर दुष्प्रचार गरिरहेको कुराप्रति भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल समेत गरेका छन् । ‘कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रष्ट पार्दछु’, उनले भनेका छन् ।

नेता शर्मा तिनै नेता हुन् जसलाई साक्षी राखेर ओली र दाहालले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका थिए । उनी ओली दाहालबिच भएका पछिल्ला बैठकहरुमा समेत लगातार सहभागी छन् ।

प्रचण्ड–नेपाल (वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएका छन् । ओलीले कुनै पनि हालतमा दुवै पद नछोड्ने अडान लिएका छन् ।

पार्टी फुटको संघारमा पुगेको भन्दै नेकपाका दोस्रो तथा तेस्रो तहका नेताहरुले चिन्ता व्यक्त गरी दबाब दिए पनि शीर्ष तहमा सहमति बन्न सकेको छैन ।

सहमतिका विभिन्न विकल्पहरुमा छलफल हुने क्रममा आउँदो मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव आएको थियो । सुरुमा ओलीको प्रस्तावमा प्रचण्ड पनि सहमत भएको बताइएको थियो, तर प्रचण्डले आइतबार आफूले त्यस्तो कुनै सहमति नगरेको बताए ।

शीर्ष तहमा सहमति बन्न नक्दा नेकपाको स्थायी कमिटि बैठक लगातार स्थगित हुँदै आएको छ।