प्रचण्डले भने सरकारले चाहँदैमा जनमत संग्रह हुदैंन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डले भने सरकारले चाहँदैमा जनमत संग्रह हुदैंन्



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीके राउतसँग आफ्नो तुलना गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग तुलना गरेको प्रसंगलाई लिएरे असन्तुष्टि जनाएका हुन् । यद्यपी, राउतसँगको तुलना योजनाबद्ध, सोचेर वा बनाएर नबोलेको भन्दै प्रचण्डले ओलीको बचाउ पनि गरे ।

‘मूलधारमा आउने भन्ने सन्दर्भमा उहाँले त्यो भन्नु भएको हो । त्यसरी तुलना नगर्दा पनि नगर्दा हुन्थ्यो, तर गर्नुभयो, त्यो त्यति ठूलो कुरा होइन’, प्रचण्डले भने, ‘निर्णय क्षमता भएको भन्ने अर्थमा उहाँले यस्तो भन्ने गर्नुभएको छ, त्यस्तै निर्णय क्षमताको सन्दर्भमा राउत र मेरो तुलना गर्नुभएको होला तर, तुलना आफैमा लंगडो हुन्छ, सबै तुलना एक अर्कासँग मिल्दैनन् । त्यसैले, मैले त्यसलाई अन्यथा मानेका छैन ।’

सरकार र राउतबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा शुक्रबार प्रधानमन्त्री ओलीले राउत पनि प्रचण्ड जत्तिकै असाधारण र क्षमतावान् व्यक्ति रहेको भन्दै तुलना गरेका थिए । जसले नेकपाभित्र चर्चा पाएको छ ।

यसैबीच, प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका छन् । सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताए ।

जनमत संग्रहलाई संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने हुन्छ’ प्रचण्डले भने, ‘सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन ।’ शुक्रबार संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा (बादल) ले पनि राउतसँग जनमत संग्रहको सहमति नभएको प्रष्ट्याइसकेको उनले उल्लेख गरे ।

सबै राजनीतिक प्रबृतिलाई बुझेर मूलधारको राजनीतिमा ल्याउनु सरकारको दायित्व भएकाले त्यसै अनुसार राउतसँग सहमति गर्नु जायज भएको उनले बताए । सहमति विपरित राउत पक्षले पृथकतावादी बाटो अख्तियार गरिरहे सरकारले कार्वाही गर्ने संकेत पनि उनले गरे । ‘त्यतातिर गयो भने के गर्ने भन्ने अधिकार सरकारमा निहित छ,‘त्यसैले, तरंगित हुनु पर्ने देख्दिन’, प्रचण्डले भने ।