नवनियुक्त मन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन समिति गठन
जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन गरिएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।
समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेस गर्ने मन्त्री अरगरियाको सचिवालयले जानकारी दिएको छ ।
शुक्रवार मन्त्रीको शपथ खाएका अरगरियाले शुक्रवार नै पदबहाली ग्रहण गरेका छन् । पदबहाली गर्नेवित्तिकै उनले यो पहिलो निर्णय गरेका हुन् ।
जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री अरगरियाको जोड छ ।