कोरोना जितेका स्वास्थ्यकर्मी धामी भन्छन- ‘संक्रमितहरु सामाजिक दुर्व्यवहारले पीडित छन्’
-सुनिलकुमार लो /कञ्चनपुर
कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामीले कोरोना संक्रमितहरु रोगले भन्दापनि सामाजिक दुर्व्यवहारले पीडित भएको बताएका छन् ।
स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई परास्त गर्न नसकेको बताएका छन । आफ्नो अनुभव बाँडदै धामीले भने-‘हिजोसम्म जतापनी मेरो आवश्यक्ता पर्ने तर संक्रमित भएको खबर थाहा हुने बित्तिकै धामीले बर्बाद बनायो भनेर कुरा काटेर घृणा फैलाउनेहरु कोरोना भाईरस भन्दापनी खतरा रहेको उनले जिकिर गरे ।
आफुले कोरोना परास्त गरेपनी यस्तो गलत सोचहरुलाई परास्त नसकेकोमा उनले दुखेसो व्यक्त गरे । कोरोनाको पिडाले भन्दापनि मान्छेहरुबाट पाएको घृणाले आफू निकै तनावग्रस्त भएको धामीको गुनासो छ । ‘आफू जोखिममा रहेर आफ्नो र परिवारको ज्यूज्यानको पर्वाह नगरी काम गर्दागर्दै संक्रमित हुन पुगेँ तर बदलामा घृणा पाएँ।’
आफ्नै पहलमा पन्ध्र जनाको पिसिआर चेक भएको र त्यसमा आफ्नो रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसन गएको बताउँदै स्वास्थ्यकर्मी धामीले यदि आफुले पिसिआरको पहल नगरेको भए पुनर्वास ठूलो जोखिममा पर्ने खुलासा गरे ।
पुनर्वास नगरपालिका ९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी धामी कोरोना जितेर सोमबार बेलुकी घर फर्केका हुन । उनको गत जेठ २१ गतेको पिसिआर रिपोर्टमा पोजेटिभ आएको थियो ।
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा १४ दिन विताएका धामीको तीनवटा परिक्षण नेगेटिभ आएको थियोे । सोमबार डिस्चार्ज हुने भएपछि पुनर्वास नगरपालिकाले पठाएको गाडीमा चढेर धामी घर पुगेका हुन ।
आफुलाई कोरोना पोजेटिभ भएको थाहा पाउँदा सुरुमा निकै डराएको स्मरण गर्दै आफुलाई सामान्य टन्सिलको समस्या बाहेक केही लक्षण नदेखिएको बताए । विदेश तिरको मृत्यु खबरले आफुलाई तनाव दिएपनि शुभेच्छुकहरुको माया र आशीर्वाद तथा स्वास्थ्यकर्मी साथीहरुको रेखदेख र हेरविचारले आफूले कोरोना भाईरसलाई जितेको धामीको भनाइ छ ।
कोरोना संक्रमणको जोखिम कम भईनसकेकोले सबैलाई होशियारी अपनाउन उनले आग्रह गरे ।
स्वास्थ्यकर्मीहरु संक्रमित हुनको मुख्य कारण स्वास्थ्य सामाग्रीको अभाव भएको बताउँदै सम्बन्धित निकायको यसतर्फ ध्यान जानु आवश्यक रहेको उनको भनाई छ ।