जनजाति भएकै कारण कुलमानलाई हटाइएको आरोप - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

जनजाति भएकै कारण कुलमानलाई हटाइएको आरोप



काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले कुलमान घिसिङ जनजाति भएकै कारण हटाइएको आरोप लगाएको छ । महासंघले उनलाई पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न पनि माग गरेको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्तिको सम्बन्धमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आवाज उठिरहेको सन्दर्भमा उनको कार्यकाल पूरा भएको यतिका दिन बितिसक्दा समेत सरकारले कुनै निर्णय नलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘लोडसेडिङ मुक्त उज्यालो नेपाल बनाउन सफल नेतृत्वको रूपमा चिरपरिचित पहिचान बनाएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई पुनःनियुक्त नगर्नु र आनकानी गर्नुमा सदिऔँदेखि राज्यबाट हेपिएका–सीमान्तकृत बनाइएका आदिवासी जनजाति समुदायका व्यक्ति भएकै कारणले त होइन भन्ने पर्याप्त आशंका सरकारको ढिलासुस्ती र आनकानीले उत्पन्न गराएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको मतबाट निर्वाचित सुविधाजनक बहुमत प्राप्त सरकारले जनताकै भावना र चाहनालाई अवमूल्यन् गरेको र नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तविपरित भएको ठहरसँगै यस विरुद्ध हामी आदिवासी जनजातिहरुको विरोध हुने स्पष्ट पार्दछौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘कुनै बेला नेपाली जनताले १८ घण्टासम्म लोडसेडिङका कारण अन्धकारमा बस्नु परिरहेको अवस्थामा उहाँको नियुक्तिलगत्तै देशलाई अन्धकारबाट मुक्त गराउनाका साथै घाटामा गएको प्राधिकरणलाई नाफामा लान सक्नु कुनै राजनीतिक चमत्कार नभई घिसिङको नेतृत्वमा कुशल व्यवस्थापकीय कार्य सम्पादनकै कारण उहाँ नेपाली जनजन र मनमनमा बस्नुभएको छर्लङ्ग छ।’