इंग्ल्याण्डसँग जानीजानी भारतले हारेको खुलासा : यस्ता छन् आधार - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

इंग्ल्याण्डसँग जानीजानी भारतले हारेको खुलासा : यस्ता छन् आधार



एजेन्सी । जारी विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको भारतले पहिलो पटक पराजय झेल्दा अनेक आशंका उब्जिएका छन् । इंग्ल्याण्डविरुद्ध गएराति सम्पन्न खेलमा भारत ३१ रनले पराजित भएको हो । ट्वीटर तथा फेसबुकमा धेरैले भारतको यो हारलाई ‘अस्वाभाविक’ भनेका छन् ।

भारतको पराजयबारे भारतमा भन्दा बढी पाकिस्तानमा टिप्पणी भएको छ । किनकि, इंग्ल्याण्डसँग भारतले पराजय झेल्दा पाकिस्तानलाई पनि सेमिफाइनलमा प्रवेश गर्ने बाटो कठिन बनेको छ । त्यसैले भारतले जानाजान पराजय स्वीकारेको कतिपय विश्लेषकको भनाइ छ ।

इंग्ल्याण्डका पूर्व कप्तान नासिर हुसेन पनि भारतको पराजय अस्वाभाविक देखिएको तर्क गर्दछन् । भारतीय ब्याट्सम्यानले अन्तिम पाँच ओभरमा गरेको प्रदर्शनप्रति उनी सन्तुष्ट छैनन् । म्याचको कमेन्ट्री गर्ने क्रममा हुसेनले भने, ‘धोनी के गरिरहेका छन् ? कमसे कम उनले कोसिस त गर्नुपर्थ्यो !’

भारतकै पूर्व कप्तान सौरभ गांगुली पनि हुसेनको तर्कसँग सहमत देखिए । गांगुलीले धोनीजस्ता ब्याट्सम्यान क्रिजमा रहनु र पाँच विकेट हातमा रहँदासमेत जितका लागि प्रयास नहुनुमा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।

३३८ रनको लक्ष्य पछ्याएको भारतले प्रारम्भिक १० ओभरमा एक विकेट गुमाएर मात्र २८ रन बनाएको थियो । रोहित शर्माले शतक र कप्तान विराट कोहलीले अर्धशतक बनाए पनि उनीहरुले आक्रामक खेल देखाउन सकेका थिएनन् । पुरा इनिङमा भारतले एउटामात्र छक्का प्रहार गरेको थियो, त्यो पनि अन्तिम ओभरमा ।

इतिहास केलाउने हो भने महेन्द्र सिंह धोनी अविजित रहेको खेलमा भारतले यसअघि एकपटक मात्र पराजय ब्यहोरेको थियो । धोनी क्रिजमा रहँदा दोस्रो पटक भारतले पराजय झेलेको हो । यो दुर्लभ परिदृष्यले पनि जितका लागि भारतले प्रयास नै नगरेको हो कि भन्ने आशंकालाई उब्जाएको विश्लेषकको राय छ ।

अन्तिम पाँच ओभरमा भारतलाई जितका लागि ७१ रन आवश्यक थियो । भारतसँग पाँच विकेट हातमा थियो । त्यतिबेला क्रिजमा धोनी र केदार जादव थिए । तर रनको आवश्यकताअनुसार दुवैले ब्याटिङ नगरेको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।

इंग्ल्याण्डसँग भारत पराजित हुँदा अंक तालिकामा फेरबदल भएको छ । यो खेलअघि अंक तालिकाको चौथो नम्बरमा रहेको पाकिस्तानलाई इंग्ल्याण्डले भारतविरुद्ध जित हात पार्दै पाँचौं नम्बरमा धकेलिदिएको छ । भारत विजयी हुँदा पाकिस्तान चौथो नम्बरमा कायम रहन्थ्यो । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ । भारतले इंग्ल्याण्डलाई पराजित गरेको अवस्थामा बंगलादेशमाथि पाकिस्तानले जित हासिल गर्दा सेमिफाइनलमा पुग्ने पाकिस्तानको सम्भावना बलियो हुन सक्थ्यो । त्यसैले पनि पाकिस्तानी प्रशंसकले भारतको जितका लागि कामना गरिरहेका थिए ।

भारतलाई इंग्ल्याण्डसँगको हारले अंक तालिकामा खासै असर परेको छैन । उसले सात खेलबाट पाँच जितका साथ ११ अंक हासिल गरेर अंक तालिकाको दोस्रो स्थान कब्जा गरेको छ । भारतले अझै दुई वटा म्याच खेल्न बाँकी छ । दुईमध्ये एउटा खेलमा मात्र विजयी भएमा पनि उसको सेमिफाइनल यात्रा निश्चित छ ।