सन्दीपले फेरि लिए दुई विकेट, जमैकाले खेल जित्यो - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

सन्दीपले फेरि लिए दुई विकेट, जमैकाले खेल जित्यो



एजेन्सी – स्टार क्रिकेटर तथा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ ।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवार्ड्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

दोस्रो विकेटका लागि दिनेश रामदिन र काइरन पवेलले ३४ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराउदै तोडेका थिए । नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गरे ।

पेरुमलको १० औं ओभरको दोस्रो बलमा अघि सरेर ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट हुँदा ४५–४ को कम्जोर अवस्थामा पुगेको थियो । ब्रेथवेटले रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराए । निक केली र इभिन लुईसले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरे । एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गरे । सन्दीपले इभिन लुईसलाई १६ औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराए ।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए ।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहे । फिलिप्सले १७ औं ओभरको अन्तिम तीन बलमा शेल्डन कटरेललाई लगातार तीन छक्का प्रहार गर्दै ४७ बलमा अर्ध शतक पूरा गरेका थिए । जारी सिपिएलमा उनको यो दोस्रो अर्ध शतक हो । फिलिप्सले १३ औं ओभरको अन्तिम बलमा व्यक्तिगत २८ रनमा मिडविकेटमा निक केलीले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।

ओपनर फिलिप्स र क्रुमा बोनरले पहिलो विकेटका लागि ६ ओभरमा २८ रनको साझेदारी गरेका थिए । बोनलाई छटौं ओभरको अन्तिम बलमा इमरान खानले कटरेलबाट १६ बलमा क्याच गराए । बोनरले १८ बलमा समान १ चौका र छक्का प्रहार गरे । दोस्रो विकेटका लागि फिलिप्स र जर्मेन ब्ल्याकवुडले ३८ रनको साझेदारी गरे । कप्तान रायद इम्रिटको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा बाउन्ड्री नजिकै ब्ल्याकवुड बेन डंकबाट २७ रनमा समातिए । उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

आसिफ अली स्पिनर ईस सोधीको १६ औं ओभरको तेस्रो बलमा डीप मिडविकेटमा इभिन लुईसबाट १० बलमा १ छक्का सहित १४ रनमा क्याच आउट हुन पुगे । खराब प्रर्दशनबाट गुज्रि रहेका कप्तान रोभमान पवेल १ रनमा आउट हुन पुगे । कार्लोस ब्रेथवेटलाई इम्रिटले शून्यमा बोल्ड आउट गरे । चाडविक वाल्टनलाई १ रनमा कटरेलले बोल्ड आउट गरे । ओपनिङमा सुरुवाती पाँच खेलमा खराब प्रर्दशन गरेका वाल्टनलाई जमैकाले तल्लोक्रममा खेलाएको थियो ।

सेन्ट किट्समा कप्तान कप्तान रायद इम्रिटले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । इमरान खानले ४ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट लिए । ईस सोधीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । यो जितसँगै तलावाज ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा उकिलएको छ ।

यस्तो रह्यो सन्दीपको चार ओभर

जमैकाले सन्दीपलाई १२ औं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीप बलिङमा आउदा सेन्ट किट्स ५३–५ को कमजोर अवस्थामा रहेको थियो । सन्दीपले पहिलो बलमा इभिन लुईसलाई एक रन दिदा दोस्रो र तेस्रो बल निक केलीलाई डट राखे । चौथो बलमा भने निकले चौका प्रहार गरे । पाँचौ र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिए ।

१४ औं ओभरको पहिलो बलमा निकले एक र दोस्रोमा दुई रन दिए । लुइसलाई तेस्रो र चौथो बल डट राखेका थिए । तर पाँचौ बलमा भने छक्का प्रहार गरे । अन्तिम बलमा एक रन दिए ।

१६ औं ओभरको पहिलो बलमा लुईसलाई एक दिएका सन्दीपले दोस्रो र तेस्रो बल शेल्डन कटरेललाई डट राखे । चौथो बलमा एक रन दिए । पाँचौ बलमा सन्दीपले लुईसलाई लङअङमा कप्तान रोभमान पवेलबाट २१ रनमा क्याच गराएका थिए । अन्तिम बलमा ईस सोधीलाई डट राखे ।

१८ औं ओभरको पहिलो बलमा सोधीले सन्दीपलाई छक्का प्रहार गरे । दोस्रो बलमा सन्दीपले सोधीलाई बोल्ड आउट गरे । तेस्रो बल जोन रस जग्गेसरलाई दुई रन दिए । अन्य सबै बल डट राखे ।