डा. केसीले भने-जेलमै अनशन बस्छु - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

डा. केसीले भने-जेलमै अनशन बस्छु



म न्यायपालिका र सर्वोच्च अदालतलाई कदर गर्छु र त्यहाँ सही तरिकाले न्याय सम्पादन गर्ने न्यायाधीशहरूको कदर गर्छु ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रलाई डामाडोल बनाउन कसैले प्रयास गर्छ भने त्यसका विरुद्घ लड्नु नागरिक र चिकित्सकका हैसियतले मेरो कर्तव्य बन्छ । म त्यही कर्तव्य निभाइरहेको छु । पक्राउ पर्नुभन्दा केही मिनेटअघि डा. केसीसँगकान्तिपुर दैनिकका अतुल मिश्रले गरेको कुराकानीको केहि अंश ।

किन १४ औं अनशन सुरु गर्नुभयो ?

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधार र मुलुकमा सुशासनका लागि यत्रो समयदेखि लडिरहेका छौं तर हाम्रो अभियानलाई बिथोल्ने गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले हिजो आफ्नै बेन्चमा तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीले बर्खास्त गरेका व्यक्तिलाई ४ वर्षे कार्यकालको ४ दिन बाँकी रहँदा उहाँकै पक्षमा निर्णय गरिदिनुभयो।

हाम्रो पहिलो आन्दोलनदेखि नै चिकित्साशास्त्र अध्ययन संस्थामा सुधार आइरहेको थियो तर अब त्यही सुधारलाई प्रतिकूल प्रभाव पार्ने व्यक्तिलाई पठाउनुको मतलब सुधारकार्य बिथोल्नु भनेको ३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड गर्ने र विद्यार्थीको पढ्न पाउने अधिकारमाथिको खेलबाड हो।

तपाईंलाई पक्राउ गरेर सर्वोच्च अदालत उपस्थित गराइँदै छ नि

एक जनाले भन्नुभयो, मेराविरुद्घ मानहानिको मुद्दा लाग्यो। त्यसको एकछिनपछि अर्कोले भन्नुभयो मलाई पक्राउ पुर्जी जारी गरेको छ रे। खास कुरा के भने म अनशन बस्दा मेरो मृत्यु पनि हुन सक्छ। ज्यान हत्केलामा राखेरै म अनशन बस्दा मलाई कसैले जेलमा लान्छ भने म झनै गौरव गर्छु। पक्रेर प्रहरीले जेलमा राख्ला। त्यहाँ पनि मेरो अनशन जारी रहन्छ। म कहिल्यै डराउनेछैन।

त्यसो भए अब के हुन्छ ?

चिकित्साशास्त्र अध्ययन संस्थान एउटा पवित्र स्थल हो। जसलाई पठाएको हो, उहाँलाई म डिन मान्दिनँ। जसका विरुद्घ लडेर र जोबाट यो स्थललाई मुक्त राख्ने प्रयास गर्‍यौं, फेरि उसैलाई पठाइयो। अदालतको निर्णय तुरुन्त बदर हुनुपर्छ। वरिष्ठता र योग्यताका आधारमा बनाइएको व्यक्ति नै डिन हुनुपर्छ।

सरकारले पहिला गरेका सम्झौता अझै कार्यान्वयन भएका छैनन्। त्यो हुनुपर्‍यो। अस्पतालमा भएका बेथिति विसंगतिविरुद्घ हामी विगत र अहिले पनि लडिरहेका छौं। ती विसंगति अन्त्य हुनैपर्छ।कान्तिपुरबाट