आकस्मिक अवतरण गर्दा विमान दुर्घटना, नौ को मृत्यु
एजेन्सी- डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ ।
विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियाे । आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
हेलिडोसा एभिएसन ग्रुपले दुर्घटनाले आफूहरूलाई ठूलो पीडा र शोक दिएको जनाएको छ । “हामी अनुरोध गर्दछौं तपाई बुद्धिमानीपूर्वक प्रभावित परिवारहरूलाई सहयोग गर्न एकतामा सामेल हुनुहोस्, जो हामीसँगै यस कठिन समयबाट गुज्रिरहेका छन्,“ समूहले उल्लेख गरेको छ ।
अहिलेसम्म आकस्मिक अवतरणको कारण भने खुल्न नसकेको बताइएको छ ।