जग्गा धनीनीलाई थाहै नदिई मालपोत कर्मचारीले बेचिदिए १० करोडको जग्गा - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

जग्गा धनीनीलाई थाहै नदिई मालपोत कर्मचारीले बेचिदिए १० करोडको जग्गा



लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै पऱ्यो। तर, अब भने प्रश्न पैदा भएको छ।

लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ। यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई।

बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन्।

नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको खबर नवराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो। प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन्।

प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन्।
योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसियो।

कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको थियो। मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए।

जग्गा बिक्री भएलगत्तै सूचना पाएका कायस्थ मालपोत पुगे। मालपोतका कर्मचारीले घटना मिलाउन उनलाई आग्रह गरे। त्यसपछि उनले कर्मचारीको नियत पत्तो पाइहाले।
‘कर्मचारीको संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी मल्ल भन्छन्, ‘यसमा ठूलै गिरोह छ जस्तो देखिन्छ, अनुसन्धान गरिरहेका छौँ।’

सरकारी रेकर्डबाट जग्गाधनीको स्रेस्ताबाट फोटो नै हेरफेर गर्नुबाटै यसमा कर्मचारीको मिलेमतो प्रस्ट हुने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।
नक्कली लालपुर्जा र नागरिकता परीक्षण नै नगरी मालपोत कर्मचारीले जग्गा पास गरिदिएका थिए।