कांग्रेसबाट निष्काशित जगन्नाथको यस्तो छ योजना, लागे चुनाव प्रचारमा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

कांग्रेसबाट निष्काशित जगन्नाथको यस्तो छ योजना, लागे चुनाव प्रचारमा



काठमाडौँ- चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार मनोनयन गराएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नगर्ने भएका छन् । शनिबार निर्वाचन आयोगले चुनाव चिन्ह गर्ने प्रदान गर्ने भएकाले चुनाव चिन्ह लिएर प्रचारप्रसारमा लाग्ने उनले बताए । निर्वाचन आयोगले शुक्रबार ५ बजेसम्म उम्मेदवार मनोनयन गरेकालाई फिर्ता लिने समय तोकेको थियो ।

महानगर मेयरका उम्मेदवार पौडेलले अहिले पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् । ‘चुनाव चिन्ह लिएर भोलिदेखि प्रचारप्रसारमा लागिन्छ,’ उनले भने,’ मेरो उम्मेदवारी भरतपुरबासीका लागि हो । उहाँहरू पनि उत्साहीत हुनुहुन्छ ।’

पौडेल नेपाली कांग्रेसको नेता हुन् । उनलाई मनोनयन गरेको उम्मेदवार फिर्ता गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँड र विना विभागीय राज्यमन्त्री चितवन समेत पुगेका थिए । उनले आफू कांग्रेसको उम्मेदवार नभएर स्वतन्त्र उम्मेदवार भएको भन्दै फिर्ता नहुने अडान राखेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुरमा पूर्व सांसद एवं कांग्रेसका पुराना नेताले पनि उम्मेदवारी दिएपछि गठबन्धनको गाँसमा ढुंगा लागेको भन्दै दाहाल, देउवा लगायतले पनि पौडेललाई फोन गरेर बस्न आग्रह गरेका थिए ।

पौडेलले आफूलाई धेरै आश्वासन दिइएको र त्यसमा लागेर आफूले निष्ठा र इमानदारिता नगुमाउने बताएका छन् । उनले रेणु दाहालले उम्मेदवारी झिकेर आफूलाई समर्थन गरे गठबन्धनलाई अप्ठेरो नपर्ने विकल्प पनि दिएका थिए ।

चितवनका पुराना कांग्रेस नेता र कार्यकर्ताले पौडेललाई खुट्टा नकमाउन भनेका छन् । देउवाले पौडेललाई सम्झाउन पहिले विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ र पछि खाँडलाई पठाएका थिए ।

आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पार्टीको निर्णय नमानेर स्वतन्त्र उम्मेदवारी दिनेलाई निष्काशन गर्ने, गठबन्धन बाहेकका तालमेल रद्द गर्ने र गठबन्धनबाट परेका दोहोरो उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको थियो । पौडेलले आफूमाथि कांग्रेसले जुनसुकै निर्णय लिए पनि ग्राह्य हुने र त्यसले स्थानीय निर्वाचनमा कुनै प्रभाव नराख्ने बताएका छन् ।

उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारका सम्बन्धमा कांग्रेसको विधान (२०१७) धारा ४ (१३) ग बमोजिम पौडेल र उनका समर्थक तथा प्रस्तावकको कांग्रेसको सदस्यता समाीत भई उनी पार्टीबाट स्वतः निष्काशित भएका छन् ।