जगन्नाथले भने: देश निकाला गरेपनि रुखभन्दा अरूमा भोट हाल्न र माग्न सक्दिन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

जगन्नाथले भने: देश निकाला गरेपनि रुखभन्दा अरूमा भोट हाल्न र माग्न सक्दिन



चितवन- भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले रुखमा पानी हाल्न आफू बली चढेको बताएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता समयपछि बोल्दै यस्तो बताएका हुन्।

उनले भने, ‘हामीलाई कारबाही हुन सक्छ। हाम्रो अभियान रोकिँदैन। रुख अपमानित छ। ढलेको छ। त्यसमा पानी हाल्न म बली चढेको हुँ। रुखको सट्टा हँसिया-हथौडामा भोट हाल भन्ने कुरा मान्य हुन सक्दैन।’

जनताको आदेशले आफू फिर्ता नलिइ अडिएको पौडेलले बताएका छन्। आफू बागी उम्मेदवार नै रहेको उनले बताएका छन्। उनले चुनौती दिए, ‘म बागी हो। देश निकाला गर्नुपर्छ भने पनि गर। तर, कांग्रेसको विधानले कांग्रेसले रुखमा भोट हाल भन्छ। अरु चिह्न चिन्दैन।’

पत्रकार सम्मेलन गर्दै उनले नयाँ इतिहासको प्रारम्‍भ गर्ने दिनको प्रारम्भिक चरणमा आफू रहेको बताए। थपे, ‘हामीले राजनीतिका अनेक चरणहरु पार गरेर उतारचढाव सामना गरेर हामीले ल्याएको लोकतन्त्र बदनाम हुन थाल्यो। गणतन्त्रमा जहाँनियाँ शासनको अभ्यास हुन लागेको देखेर उकुसमुकुसको अवस्था थियो। चिर्नुपर्ने थियो। आज चिर्न म अघि बढेको छु।’

जनताका इच्छा र आकांक्षा कुन्ठित हुने गठबन्धन जरुरी नरहेको बताउँदै उनले गठबन्धन नै विकृत रहेको बताए। उनले भने, ‘गठबन्धन विकृत छ। आज एउटा पार्टीसँग गरेको छ, भोलि अर्को पार्टीसँग। नैतिक अभ्यास भएको छ कि छैन?’

उनले छोरी, बुहारी र श्रीमतीलाई पद दिने अभ्यास राम्रो भन्न नसकिने बताउँदै कसैलाई नेता मान्न उसले ठीक निर्णय गर्नुपर्ने बताए।