जडेजाको दुई छक्काले कोलकाताको प्लेअफ पुग्ने सपना चकनाचुर - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

जडेजाको दुई छक्काले कोलकाताको प्लेअफ पुग्ने सपना चकनाचुर



एजेन्सी- रवीन्द्र जडेजाले अन्तिम २ बलमा २ छक्का प्रहार गरेपछि कोलकाता नाइट राइडर्सको प्लेअफमा पुग्ने सपना चकनाचुर भएको छ ।
बिहिबार भएको खेलमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईको यस विजयले मुम्बईको औपचारिक रूपमै प्लेअफमा स्थान पक्का भएको छ भने कोलकत्ताको गणितीय सम्भावना मात्रै बाँकी छ।

टस हारेपछि ब्याटिङमा आएको कोलकाताले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ५ विकेट गुमाई १ सय ७२ रन बनायो। चेन्नईलाई विजयका निम्ति अन्तिम दुई ओभरमा ३० रन चाहिने थियो। लोकी फर्गुसनले फालेको खेलको दोस्रो अन्तिम ओभरमा २० रन जोड्दै चेन्नई खेलमा फर्किएको थियो। जडेजा एक्लैले त्यसमा दुई चौका र एक छक्कासहित १७ रन जोडे।

अन्तिम ओभरमा पहिलो तीन बलमा साम करनले ३ रनमात्र बनाउन सकेका थिए। चौथो बलमा जडेजाले पनि कुनै रन बनाउन सकेनन्। पाँचौं बलमा जडेजाले कमलेश नगरकोटीलाई छक्का प्रहार गर्दै स्कोर बराबरीमा ल्याए। जडेजाले अन्तिम बलमा पनि छक्का प्रहार गर्दै चेन्नईलाई नाटकीय विजय दिलाए। जडेजा ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३१ र करन १४ बलमा १३ रन बनाई अविजित रहे।

१२ खेलमा आठ विजयसहित शीर्ष स्थानमा रहेको मुम्बई प्लेअफमा पुगेको हो। शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ। त्यसमा पहिलो दुई स्थानमा रहने टोलीले क्वालिफायर १ मा खेल्ने छ र विजेता टोली फाइनलमा पुग्ने छ। पराजित हुने टोलीले तेस्रो र चौथो बीचको विजेतासँग फाइनलमा स्थान पाउन खेल्ने छ।

बेंग्लोर र दिल्ली क्यापिटल्सको समान १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। किंग्स इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स समान १२ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स समान १० अंकसहित छैटौं र सातौं स्थानमा छन्। दस अंक पुर्‍याएको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो। यस हारले कोलकाताको प्लेअफमा पुग्ने सम्भावना पनि गणितीय हिसाबमा मात्र सीमित बनेको छ। राउन्ड रोबिन लिगमा कोलकाता र चेन्नईले १–१ खेल खेल्नमात्र बाँकी छ।

चेन्नईलाई विजय दिलाउने क्रममा रुतुराज गायकडले ७२ रन बनाए । उनले ५३ बल खेली ६ चौका र २ छक्का प्रहार गरे। शेन वाटसन १४ र अम्बती रायडु ३८ रनमा आउट भए।

कोलकाताका बरुण चक्रवर्तीले ४ ओभरमा २० र प्याट कुमिन्सले ४ ओभरमा ३१ रन खर्चेर समान २ विकेट लिए। यसअघि कोलकाताबाट नितिश रानाले ८७ रन बनाएका थिए। ६१ बलको इनिङ्समा उनले १० चौका र ४ छक्का प्रहार गरे। सुबमन गिल २६, सुनिल नारिन ७, रिंकु सिंह ११ र कप्तान इयन मोर्गन १५ रनमा आउट भए। दिनेश कार्तिक १० बलमा २१ रन बनाई अविजित रहे।