संवैधानिक नियुक्तिमा भागबण्डा लिएको प्रश्न उठेपछि इजलासमै चर्किए जबरा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक नियुक्तिमा भागबण्डा लिएको प्रश्न इजलासमा उठेपछि यस्ता कुरा नगर्नुस भन्दै चर्किएका छन् ।
संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको जबराले बताएपनि निवेदक ओमप्रकाश अर्यालले इजलास छाड्नुपर्न अडान राखेका छन् । तर जबराले भने नियुक्तिका विषयमा व्यक्तिलाई आरोप लगाउन नमिल्ने बताएका छन् ।
संवैधानिक इजलासमा सुनुवाइ शुरू भएपछि रिट निवेदक अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छोड्न दवाव दिएका थिए ।
जवाफमा जबरा चर्किएका थिए । उनले नियुक्तिका विषयलाई लिएर आरोप लगाउन नमिल्ने बताएका थिए । उनले भने, ‘गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो ।
त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । सोही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।