एकीकृत समाजवादीले 'जबज' नमान्ने - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

एकीकृत समाजवादीले ‘जबज’ नमान्ने



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद आफूहरुको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताएका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले मार्क्सवाद र लेनिनवाद नै आफूहरु मार्गदर्शक सिद्धान्त भएको प्रस्ट पारे।

उनले मार्क्सवाद र लेनिनवादकै प्रकाशमा समाजवादी क्रान्ति र रुपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्ने बताए। ‘यसरी मात्रै हामीले समाजवादका लक्ष्य हासिल गर्न सक्छौं। र, नेपाली जनताको सपनाको रुपमा हामीले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको निर्माण गर्न सक्छौं,’ उनले भने, ‘नवौं महाधिवेशनबाट अगाडि सारेको नेपाली जनताको सपना ‘सुखी नेपाली समृद्ध नेपाल’ लाई दृढतापूर्वक अगाडि लिएर जानुपर्छ। समाजवादमा पुग्दा मात्रै ती चिज हासिल गर्न सकिन्छ।’

उनले पाँचौं महाधिवेशनमा मदन भण्डारीले अघि सारेको जबजको माग, नीति र सिद्धान्तहरुलाई नेपालको संविधानले पूर्णरुपले संस्थागत गरेको बताए। जबज भनेको पनि पुँजीवादी जनवादकै एउटा रुप भएको भन्दै उनले २०६२/६३ मा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसकेको बताए। ‘नयाँ संविधानमार्फत् जनताको बहुदलीय जनवाद लागू गरेका छौं। अब यो जनवादलाई भरपूर उपयोग गर्दै हाम्रो पार्टीले मुलुकलाई शान्तिपूर्ण प्रयत्नद्वारा लोकतान्त्रिक ढंगले शान्तिपूर्ण समाजवादी क्रान्ति र रुपान्तरणको दिशातिर अघि बढाउनुपर्छ,’ खनालको भनाइ थियो।

उनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएपछि पुँजीवादी जनवादी क्रान्तिको थालनी भएको र त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिको रुपमा विकसित भएको बताए। क्रान्तिको ऐतिहासिक चरणमा कार्यक्रमका विभिन्न रुप अघि सारिएको खनालको भनाइ थियो।

‘कहिले नयाँ जनवाद अघि सार्‍यौं। कहिले त्यसलाई नौलो जनवाद भन्यौं। कहिले राष्ट्रिय जनवाद भन्यौं। कहिले राष्ट्रिय प्रजातन्त्र भन्यौं। कहिले जनताको जनवाद भन्यौं। कहिले लोक जनवाद पनि भन्यौं। र, पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद भन्यौं। स्वरुपमा जतिसुकै धेरै जनवाद जन्मिए पनि तिनीहरु सबै सारतः पुँजीवादी जनवादकै विभिन्न रुपहरु मात्रै हुन्,’ उनले भने।