छ वर्षपछि इजरायलमा रोजगारीको ढोका खुल्यो, ९९ श्रमिकलाई श्रममन्त्री र राजदूतले गरे बिदाइ - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

छ वर्षपछि इजरायलमा रोजगारीको ढोका खुल्यो, ९९ श्रमिकलाई श्रममन्त्री र राजदूतले गरे बिदाइ



काठमाडौं – नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायल गएका हुन्।

इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा उनीहरू रोजगारीका लागि इजरायल गएका हुन्। १५ र १६ माघमा दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन्। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसिरमा ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल र इजरायलबीच १४ असोज ०७७ मा श्रम सम्झौता भएको थियो। नेपाली श्रमिकले इजरायलमा मासिक करिब दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनीहरूले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बिदाइ गरे।