आइसोलेसनमा प्लास्टिक चामलको खाना: सडकमै उत्रिए आरडीटी पोजेटिभहरू
विशाल पाण्डेय / कैलाली– घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको आइसोलेसन वार्डमा बसिरहेका आरडिटी पोजिटिभ भएकाहरू आन्दोलमा उत्रिएका छन् ।
क्वारेन्टिनमा प्लास्टिकको चामलको भात खुवाएको, बस्ने ठाउँ व्यवस्थित नभएको र पीसीआर परीक्षणमा ढिलाइ गरेको भन्दै उनीहरुले बुधबार पुर्व पश्चिम् राजमार्ग अवरुद्ध गरेका थिए ।
लामो समय भैसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लास्टिकको चामल खुवाइएको, चर्को गर्मीको समयमा बिधुत व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको भन्दै आन्दोलित भएका हुन् ।
प्रदेशभरि नै स्वाब संकलन कार्य रोक्न निर्देशन भएअनुसार घोडाघोडी नगरपालिकामा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको घोडाघोडी नगरपालिकाका अहेव मानबहादुर बोहराले बताए ।
यता घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले धनगढीस्थित प्रदेश प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाबको मौज्दात धेरै रहेका कारण स्वाब संकलनमा ढिलाइ भएको बताए ।
‘प्रयोगशालामा १६ सय भिटिएम अझै चेक गर्न बाकी छ, हामिले आग्रह गरिरहेका छौं । नगर प्रमुख चौधरीले भने, ‘उहाँहरु आउन त तयार हुनुहुन्छ तर, परिक्षणको रिपोर्ट आउन १४/१५ दिन लाग्छ रे , त्यो भन्दा बरु स्वास्थ मन्त्रालयको नियमानुसार १४ दिन कटेकाहरुलाइ एक हप्ता अलग्गै बस्ने गरि घर पठाउने तयारीमा छौं ।
आइसोलेसनमा बसेका मानिसलाई प्लास्टिकको चामलको भात खुवाउनुहुन्छ रे त ? भन्ने प्रश्नमा नगर प्रमुख चौधरीले प्लास्टिकको नभइ मसिनो सोना मनसुली भन्ने चामल प्रयोग गरेको बताए ।पकाउदा केही मिस्टेक भएपनी प्लास्टिकको चामल भने नभएको बताए ।
नगर प्रमुख चौधरीले विद्युत तथा खानेपानी लगायतको समस्यालाई पनि व्यवस्थापन गरि थप कमि कमजोरी सुधारेर लैजाने बताए ।
नगरपालिकाले नगरका १२ वटै वडामा आरडिटी पोजेटिभ देखिएका ६२ जना मानिसहरूलाई स्वास्थ मन्त्रालयको निर्देशन अनुसार आइसोलेसन वार्ड निर्माण गरि आश्रय दिइरहेको छ ।