ईश्वर पोखरेलले थाले अध्यक्षमा लड्ने तयारी, टिम बनाउन सुरू - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

ईश्वर पोखरेलले थाले अध्यक्षमा लड्ने तयारी, टिम बनाउन सुरू



काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।

‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलको भनाइ छ । उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे । यद्यपी पोखरेलले यसअघिको पत्रकार सम्मेलनमा आफू पार्टी अध्यक्ष बन्न योग्य भएको बताएका थिए ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे । नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।

उनी निकट नेताहरूले भने अध्यक्ष पदको तयारीमा पोखरेल लागिसकेको बताउने गरेका छन्। आगामी महाधिवेशनकै लागि टिम बनाउन उनी लागिपरेको बुझिएको छ । एक नेताका अनुसार अध्यक्ष पदको तयारीमा लाग्नकै लागि उनले महासचिवमा नउठ्ने घोषणा गरेका हुन् ।

पोखरेलको भनाई, जस्ताको त्यस्तै

हामीले निर्वाचनको घोषणापत्रमा गरेको प्रतिवद्धता र त्यसमा आधारित सरकार गठन भइसकेपछि ल्याएको नीति तथा कार्यक्रममा जुन प्रतिवद्धता व्यक्त गरेका हौं त्यसमा हामीले गरेका कामहरुको रेटिङ गरिदिनुस् । यसबारे यहाँहरुले वस्तुनिष्ट समीक्षा गरेर यिनीहरुले यस्तो भनेका थिए– तर यो गरे यो गरेनन् भनेर जस्ताको तस्तै जनताको बीचमा ल्याइदिनुस् । त्यसमा बढाउन परेन, घटाउन परेन ।

जहाँसम्म हामी सत्तापक्षबाट प्रमुख प्रतिपक्षको हैसियतमा रहेको प्रसंगमा राष्ट्र र जनताको हितको सवालमा दवाबमुलक कार्यक्रम गर्नेछौ । त्यो काम गर्दा लोकतान्त्रिक ढंगबाटै त्यस्ता कार्यक्रम गर्छौ, लोकतान्त्रिक मूल्यमान्यता विपरित त्यस्ता काम पनि गर्दैनौँ । त्यसकारण दुवै अवस्थामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्छ भन्ने मान्यता राख्छौ । हिजो गठबन्धनमा झण्डै दुई तिहाइ बहुमत ल्याएका थियौं । तर पछि पार्टी एकता टिकेन । त्यो नटिकेपछि हामी मेजोरिटीमा नरहेको यथार्थ हो ।

यस्तो अवस्थामा हामी सरकारमा बस्न सक्ने स्थिति रहने कुरै भएन । हामी के कुरामा प्रष्ट छौ भने यो गज्याङगुजुङमा ताजा जनादेशमा नगई देश चल्दैन भनेर प्रधानमन्त्री भएको बेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्तव्यस्तताको बीचमा केही गर्न सकिन्न भनेर ताजा जनादेशका लागि संसद विघटन गरेको हो ।

विघटन उचित थियो थिएन त्यसमा दण्ड दिने वा पुरस्कृत गर्ने कुरा जनताले गर्लान् । तर ताजा जनादेशमा जानु नै मुलुकको भलाई हो भन्ने हाम्रो भनाइ हो । यो ताजा जनादेशमा जानेबारे शेरबहादुर देउवासँग वा कसैसँग मिलेर अथवा सरकारमा जाने पनि कुरो छरे भनेर कसैले भनेको सुन्दा मलाई हाँसो पनि उठ्यो ।

म सबै साथीहरुलाई भन्छु यसबीचमा हामी सरकारमा गएर सफलता प्राप्त गर्ने योजनामा छैनौ हामी त्यो ठान्दैनौ । तर जति धेरै यो गन्जागोल रहन्छ त्यति धेरै मुलुकले दुख पाउँछ । त्यसकारण जति चाँडो ताजा जनादेशमा गइन्छ त्यो नै योग्यतम् अवसर हो भन्ने हाम्रो भनाइ हो । यो अवसरमा हामी कसैसँग अस्वभाविक गठबन्धन गर्दैनौ ।

जहाँसम्म सम्मानित सर्वोच्च अदालतको कुरा हो, हामी यसलाई यही हिसाबले सम्बोधन गर्छौ । के–के मञ्चन हुँदैछ देखिरहनुभएको छ, विश्लेषण गरिरहनुभएको छ । तर म के भन्न चाहान्छु भने अदालतले राजनीति गर्ने होइन अदालत अदालत जस्तै हुनुपर्यो । अदालत संविधानअनुरुप र राजनीतिक दलसम्बन्धी कानुनलाई हेक्का राखेर चल्नुपर्यो । तर त्यस्तो भइरहेको छ कि छैन तपाईहरु आफै हेर्नुस् ।

हिजो हामी सेटिङका कुरा सुन्थ्यौ, तर आज अनेक काण्ड भैरहेका छन् यी सबैमा जनतालाई जानकारी दिने हिसाबले कलम चलाउनुहुनेछ भन्ने म यहाँहरुसँग आग्रह गर्छु । म घटना विशेषमा जान चाहान्न । तर सरकार यसको नेतृत्वमा बनाउ भनेर परमादेश जारी गर्ने अदालत के कुरामा संलग्न छ र कस्ता कस्ता निर्णय गर्दैछ भन्ने कुरा हेरिरहेका छौ, त्यो विश्लेषण र विवेचना गरेर जनतामा पुर्याउनुहुनेनै छ भन्ने अपेक्षा गर्दछु ।