प्रचण्ड-बामदेवविरुद्ध रक्षामन्त्री पोखरेल
काठमाडौँ-७ मा बामदेव गौतमलाई उम्मेदवार बनाउने प्रस्तावको विरोध गरेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गौतम तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध प्रहार सुरु गरेका छन्।
पोखरेलले नेकपा केन्द्रीय सचिवालयको सोमबार (२२ असोज) को बैठकमा गौतमलाई काठमाडौँ-७ बाट उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्तावको विरोध गरेका थिए। बुधबार विहान आफ्नो फेसबुक पेजमार्फत उनले अप्रत्यक्षरुपमा अध्यक्ष प्रचण्ड र नेता गौतमलाई प्रहार गरेका हुन्।
फेसबुक पेजमा लामो स्टाटस लेखेका पोखरेलले गौतमप्रति संकेत गर्दै बिगतमा पार्टी विभाजन गरेको तथा प्रचण्ड र माओवादीप्रति संकेत गर्दै क्रान्तिका नाममा विदेशी भूमिका आश्रय लिएको र विदेशी शक्तिसित साँठगाँठ गरेको भन्ने सन्देश दिन खोजेका छन्।
‘हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौँ र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौँ’ उनले भनेका छन्, ‘मौलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौँ, सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौँ, यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति-विसंगतिका विरूद्धमा जुध्यौँ र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौँ, बढिरह्यौँ।’
यति बताइसकेपछि उनले गौतम नेतृत्वमा नेकपा माले) विभाजन गरेको संकेत गर्दै भनेका छन्:
हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौँ, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौँ र पराजित गर्यौँ, यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौँ।
त्यसपछि उनको प्रहार अध्यक्ष प्रचण्ड र तत्कालिन माओवादीप्रति सुरु हुन्छ:
हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौँ, रहन चाहेनौँ, देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौँ, हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौंँ, बाँच्न चाह्यौँ, जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष’ मा रमाएनौँ, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौँ, हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकांक्षा कहिले पनि झांगिन पाएन, फल्न–फूल्न पाएन। यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौँ। राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौँ।
माओवादी आन्दोलन र नेतृत्व विदेशी भूमिमा आश्रित रहेको, विदेशी शक्तिसँग साँठगाँठ गरेको सन्देश दिइसकेपछि पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकतापछिको स्थितिबारे उल्लेख गरेका छन्। पोखरेल भन्छन्:
अहिले हामी भन्दैछौँ, हामी थप एकतावद्ध बनेका छौँ, कता हो कता शक्तिशाली पनि बनेका छौँ। तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ।
त्यसपछि उनले काठमाडौँ-७ मा उपचुनाव लड्ने नेकपा नेता बामदेव गौतमको चाहना र गौतमको चाहनालाई अध्यक्ष प्रचण्डले दिएको समर्थनप्रति संकेत गर्दै भनेका छन्:
प्राप्त भएको उचाइसँगै चुनौतिहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिबेला पनि हेक्का राख्नु ज़रूरी छ। त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयंले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरूरी छ। हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन् , हामी नयाँ स्तरमा उठ्न सक्नेछौँ।
स्मरणीय छ, २२ असोजको केन्द्रीय सचिवालय बैठकमा पोखरेलले काठमाडौँ-७ मा उपनिर्वाचन गराएर गौतमलाई प्रतिस्पर्धा गराउने योजनाको विरोध गरेका थिए। उनले भनेका थिए, ‘त्यहाँ उपनिर्वाचन गराएर गौतमलाई प्रतिस्पर्धा गराउने त परै जाओस्, त्यस क्षेत्रका सांसद रामवीर मानन्धरको राजिनामा र गौतमलाई उठाउने भन्ने मागपत्र समेत आज (२२ असोज) को बैठकमा वाचन गर्न मिल्दैन।’
रक्षामन्त्री पोखरेलको धारणा यही विषयको सेरोफेरोमा सार्वजनिक भएको हो।
You may be interested

भारतबाट उद्धार गरिएका १७९ नेपाली काठमाडौँ ल्याइयाे
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०९:००काठमाडौँ । भारतकाे मणिपुर हुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने क्रममा उद्धार गरिएका १७९ जना काठमाडौँ ल्याइपुर्याइएकाे छ । मङ्गलबार…

अझै खुलेन नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:५२काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच…

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली
विशाल पाण्डेय - २०७५, ९ फाल्गुन ०८:४२कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो…