ओली-नेपाल मिल्न नदिन मध्यरातसम्म खटिन्छन् ईश्वर पोखरेल - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओली-नेपाल मिल्न नदिन मध्यरातसम्म खटिन्छन् ईश्वर पोखरेल



काठमाडौं- नेकपा एमालेभित्र अहिले संकटको समय चलिरहेको छ । धेरैजसो नेताहरू पार्टी मिलाउने अभियानमा लागिरहेका बेला उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल भने पार्टी बिभाजन गर्न र माधव कुमार नेपाल समुहलाई बायस गर्न मरिमेटेर लागिपरेको खुलेको छ ।

शक्ति संघर्ष र पदका लागि चलेको रस्साकस्सीले लामो समयदेखि एमाले विभाजन उन्मुख छ । पार्टीको एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै लाग्दा पनि एकता हुन नदिनेगरी अर्को टिम सक्रिय रहेको छ । ओलीका विश्वासपत्र ईश्वर पोखरेलको टिम कुनै पनि हालतमा एकता हुन नदिन मरिमेटेको स्रोतको दाबी छ ।

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकतावद्ध राख्न नेता नेपाललाई आफैले फोन गरेर संवाद थालेका थिए ।त्यतिमात्र होइन नेपालले बालुवाटार र बालकोटमा बस्न नमानेपछि होटल मेरियट जान पनि ओली लाचा बनेका थिए । बुधबार भएको पहिलो वार्तामा नेता नेपालका मागमा ओली लचिलो बनेको तर बिहिबार एकाएक सहमतिबाट भड्किएका थिए । बुधबारदेखि शनिबारसम्म आइपुग्दा ओली र नेपालबीच फाटो ल्याउन ईश्वर पोखरेल समूह रातारात खटिएको स्रोत बताउँछ ।

आफ्नै समुह बहुमत नेताहरूले नेपाल समुहलाई छोडेर अगाडी जाँदा चुनावमा नराम्रो हार बेहोरिने बताएपछि नेपाल समूहसँग संवाद सुरू गरेका ओलीलाई नेपाल समूहसंग सहमति नगर्न पोखरेललगायतका नेताहरूले दवाव दिएका थिए । बुधबार साँझ ओलीले वालुवाटारमा सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङसँग नेपाललाई पनि मिलाएर लैजानेबारे ब्रिफिङ गरेका थिए । त्यसलगत्तै मध्यरातमा पोखरेलको समूह बालुवाटार छिरेर ओलीमाथि दवाव बनेको स्रोत बताउँछ ।

गण्डकी प्रदेशमा मूख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराइको पहलमा नेता नेपालसँग संवादको माहोल बनाएका थिए । सोहि अनुसार बुधबार दुई घण्टा वार्ता गरेर नेता नेपाललाई मिल्न सकिने ‘ग्रिन सिग्नल’ दिएका ओलले बिहिबार बिहानै भड्किएका थिए । उनले बिहिबार बिहानै एमाले पार्टी कार्यालयको सिलान्यास गर्दै नेपालसमूहसँग मिल्न नसकिने संकेत गरे । ओलीको यो संकेतपछि सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ भने छाँगाबाट खसेजस्तै बनेका थिए । अघिल्लो साँझमात्रै राम्रो संकेत गरेका ओली अर्कोदिन बिहानै बिच्किनु स्वाभाविक घटना थिएन ।

बल्खुमा आयोजित एक कार्यक्रममा ओलीको सम्बोधन आक्रामक देखेपछि बेलुकीको कुरा बिहानै कसरी बदलियो भनेर विष्णु पौडेलले प्रधानमन्त्रीलाई सोधेका थिए । पौडेलले राखेको जिज्ञासामा ओली खासै बोलेका थिएनन् । बुधबार राती आफूहरू निस्किएपछि ईश्वर पोखरेल लगायतको समूहले प्रधानमन्त्री ओलीलाई भेटेको पौडेलले सुचना पाएका थिए ।

स्रोतको दाबी अनुसार पोखरेलले हिजो नेपाल समूह बलियो हुँदा आफूलाई गरेको कारबाही र पल्लो छेउँमा पुर्याएको बिर्सन नहुने भन्दै ओलीलाई सम्झाउन प्रयास गरेका थिए । त्यतिमात्र होइन उनीहरूले देशभर आफ्नै माहोल भएकाले चुनावमा यत्तिकै दुई तिहाई आउने भएकाले चुनावमा जान पनि नेपाल समुहको साथ् नचाहिने बताएका थिए ।

पोखरेलको समूहले एकता भाड्ने खेल खेलेपछि अहिले पौडेल तथा गुरुङ निराश भएका छन् । बुधबार ओलीसँग माधव नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर सबैलाई समेट्ने वातावरण तयार गरौ, माओवादीबाट आएका नेताहरुको पनि व्यवस्थापन गरौँ त्यसको वातावरण बनाउनुस म पनि साथीहरुसँग सल्लाह गर्छु अनि भेटघाटलाई निरन्तरता दिँदै जाने प्रस्ताव राखेपछि ओलीले पनि जेठ २ मा फर्कन आफू तयार भएको संकेत गरेका थिए ।

बिहिबार भने ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफूले गरेको पछिल्ला कुनै पनि निर्णयहरुबाट पछि नहट्ने अडान लिएपछि कुनै प्रगति नभएको नेता नेपालले बताएका थिए ।