के रक्षामन्त्री इश्वर पोखरेल नेकपाका भिलेन हुन् त ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

के रक्षामन्त्री इश्वर पोखरेल नेकपाका भिलेन हुन् त ?



दुई हप्तापछि भएको नेकपा बैठकमा केन्द्रीय सचिवालयका ७ नेताहरु एकातिर उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिरक्षात्मक स्थितिमा पुगेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधव नेपाल र अर्का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलको चर्काे आलोचना गरे।

खासगरी रक्षामन्त्री पोखरेलले आफूहरुलाई भारत परस्त भन्दै षडयन्त्रमूलक तरिकाले प्रचार गरेको आरोप तिनै नेताहरुले लगाएका थिए।

गौतमले भनेका थिए, ‘वातावरण नबन्दासम्म मलाई तपाईं जहाँ चाहनुहुन्छ, त्यहाँ उठ्नोस् भनियो, तर जब काठमाडौँ-७ मा रामवीर मानन्धरले मेरा लागि छोड्छु भन्नुभयो, त्यसपछि मविरुद्ध नियोजित रुपमा प्रचार सुरु भयो।’

आफूविरुद्ध रक्षामन्त्री पोखरेलले नै नियोजित रुपमा प्रचार सुरु गरेको आरोप गौतमले लगाएका थिए। गौतमको गुनासो थियो, ‘कतिसम्म भने, भारतीय योजनामा उपनिर्वाचनमा उठ्न खोजेको भन्ने घृणित आरोप समेत लगाइयो।’

गौतमले बैठकमा झण्डै एक घण्टा बोलेका थिए र निशाना प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध केन्द्रित गरेका थिए। स्रोतका अनुसार, गौतमको निशानाका कारण रक्षामन्त्री पोखरेलको अनुहार बैठकबाट बाहिरिँदासम्मपनि अध्यारो नै थियो।

गौतमले ओली र पोखरेलमाथि निशाना साँधेपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव नेपालले पनि ओली र पोखरेलमाथि निशाना साँधे।

स्रोतका भनाईमा, आफूले भारत भ्रमण द्विदेशीय सम्बन्ध बलियो बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सहयोग पु¥याउन गरेपनि भारत भ्रमणलाई बदनाम गराउने प्रयास सरकारमा रहेका मन्त्रीबाटै भएको भन्दै प्रचण्डले गुनासो गरेका थिए।

‘सरकारमा रहेका पार्टीका बरिष्ठ नेताबाटै यसरी भारत भ्रमणका बारेमा नकरात्मक प्रचार गर्ने काम भयो’ प्रचण्डले बैठकमा भने, ‘बामदेव गौतमलाई काठमाडौँ–७ बाट उठाउने सन्दर्भमा पनि यसैगरी नियोजित रुपमा प्रचार गरियो।’

काठमाडौँ-७ बाट गौतम उठ्ने चर्चा चलेपछि रक्षामन्त्री पोखरेलले फेसबुकमा लामो स्टाटस लेखेर जनयुद्धकालमा विदेशी शक्तिसँग गोप्य साँठगाँठ गरेको आरोप लगाएका थिए। सो. स्टाटसमा उनले नेता गौतमप्रति पनि उसैगरी प्रहार गरेका थिए।

बरिष्ठ नेता नेपालले पनि भारतसँग जोडेर आफू लगायतका नेताको बदनाम गर्न खोजिएको भन्दै आक्रोस पोखेका थिए।

नेता नेपालको भनाई थियो, ‘यो सरकारप्रति जनताको अपेक्षा निकै ठूलो छ, तर अपेक्षा गरे अनुसारका काम कार्वाही हुन सकेका छैनन् भन्दा, पार्टीको नेतृत्व सिष्टम अनुसार चलेन भनेर झक्झक्याउन खोज्दा भारतसँग मिलेर सरकार ढाल्न खोजेको दुश्प्रचार गरियो।’

नेता नेपालले पनि यस्तो दुश्प्रचार गर्न रक्षामन्त्री पोखरेल नै सक्रिय भएको संकेत गरेका थिए। स्रोतका भनाईमा, प्रचण्ड, नेपालको भनाईप्रति बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायतका नेताले पनि समर्थन जनाएका थिए।