ईश्वर पोखरेलले भनेका थिए: ओलीको पाराले ६ महिना पनि टिक्न सकिन्न - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

ईश्वर पोखरेलले भनेका थिए: ओलीको पाराले ६ महिना पनि टिक्न सकिन्न



काठमाडौं- आफैंले चालेको एकपछि अर्को असफल कदमका कारण पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रुपमा कमजोर बन्दै गएका छन् । पार्टी र सरकार दुबैतिर एकलौटी गर्ने प्रयास असफल हुँदा उहाँ अहिले राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा पुगेको बताइन्छ ।

दुई पटकको संसद विघटन, नेकपा हुँदै एमालेसम्मको विभाजन र सरकारको अलोकप्रियताका कारण प्रधानमन्त्रीको ओरालो यात्राको काउण्टडाउन शुरु भैसकेको बिश्लेषकहरु बताउँछन् । यसवीच ओलीको विकल्पमा विपक्षी दलले केन्द्रदेखि प्रदेशसम्म मोर्चा कसेका छन् ।

पार्टी र सरकार दुबैतिर ओली क्रमशः कमजोर हुँदै जानुका पछाडि उहाँकै कार्यशैली मुख्य जिम्मेवार रहेको धेरैको बुझाइ छ । नेकपाले पाएको झण्डै दुई तिहाई जनमत खण्डित हुँदा होस् या एमाले विभाजनको संघारमा पुग्नुमा होस् नेतृत्वको हिसाबले उनको कार्यशैली नै जिम्मेवार रहेको टिप्पणी हुने गरेको छ ।

एकातिर प्रदेशमा विपक्षी गठवन्धनको सहकार्य सफल बन्दै जानु,अर्कोतिर संवैधानिक इजलास गठनमा आफूले चाहेअनुसार नहुनुले ओली हतास बनेको बताइन्छ ।

ओली कमजोर बन्दै जानुका पछाडि उनको आफ्नै कार्यशैली मुख्य जिम्मेवार रहेपनि उनीनिकट दोस्रो तहका नेताहरुको अस्वस्थ प्रतिस्पर्धा पनि उत्तिक्कै जिम्मेवार रहेको कतिपयको बुझाइ छ । बाह्य परिस्थितिसँगै आफ्नै समूहभित्रको अन्तरकलह व्यवस्थापनमा चुक्दा प्रधानमन्त्री ओली झनझन कमजोर बनिरहेको बालुवाटारनिकट एक नेताले बताए ।

ओली समूहमा अहिले उनको उत्तराधिकारीका लागि अप्रत्यक्ष होडबाजी चलिरहेको छ । ओलीपछिको नेतृत्वका लागि ईश्वर पोखरेल,सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल प्रतिष्पर्धामा छन् । केही बर्षदेखि प्रधानमन्त्रीको रोजाइमा शंकर पोख्रेल परेपछि ईश्वर चिढिएको चर्चा पनि छ ।

यता, शंकर र विष्णु पौडेलको इगोको लडाइँले पनि बालुवाटारलाई चिन्तित बनाएको बताउनेहरु छन् । ओली समूहको अन्तरसंघर्षबारे जिज्ञासा राख्दा एक नेताले एक वर्षअघि ईश्वर पोखरेलसँगको कुराकानी स्मरण गरे । रक्षा मन्त्रालयको कार्यकक्षमा ओलीका कार्यशैलीको खुलेर आलोचना गर्नुभएका पोखरेलले त्यतिबेलै अहिलेको अवस्थाको संकेत गरेको ती नेताले बताए ।

‘पूरै एकल शासन, न अरुलाई सूचना,न सल्लाह र सुझाव, हामीसँग कुरा हुँदा उनले यो पाराले ६ महिनाभन्दा बढी टिक्दैन भनेका थिए । अहिले उनले भनेजस्तै भैरहेको देखिन्छ । ओलीका अगाडि बोल्न नसके पनि त्यहाँ धेरै असन्तुष्टि छ भन्ने कुरा उनको अभिव्यक्तिले त्यतिबेलै संकेत गरेको हो’,ती नेताले भनेको जनआस्थाले लेखेको छ ।