उपप्रधानमन्त्रीको निर्देशन: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्नु - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

उपप्रधानमन्त्रीको निर्देशन: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्नु



काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरूमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन्।

महामारीको बेला जनताको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराधिक’ भएको पोखरेलले बताएका छन्। स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन पनि उनले निर्देशन दिएका छन्। यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि पोखरेलले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए।

घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उनले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताए।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।