सम्धी-सम्धीको सपना चकनाचुर - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

सम्धी-सम्धीको सपना चकनाचुर



काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनका सम्धी प्रा डा उपेन्द्र कोइरालाको सपना चकनाचुर भएको छ । वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष हुन नपाएपछि उनी दुबैको सपना चकनाचुर भएको हो ।

वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि कोइरालाले सञ्चालक पदबाट राजीनामा दिएका छन्।

वाणिज्य बैंक सञ्चालक समितिले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालाई अध्यक्ष चयन गरेसँगै कोइराला बैंकबाट राजिनामा दिएका छन् । अध्यक्ष बन्नका लागि तामझामका साथ वाणिज्य बैंक छिरेका कोइरालाको निकै आलोचना भएको थियो वाणिज्य ।

यसअघि पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका थिए।

कोइराला तत्कालीन नेकपा एमालेका तर्फबाट अत्याधिक राजनीतिक नियुक्ति पाउने व्यक्तिमध्ये पर्छन्। उनले यसअघि खाद्य संस्थान र नेपाल आयल निगममा नियुक्ति पाएका थिए। कोइराला २०६१ सालमा आयल निगमको कार्यकारी निर्देशक भएका थिए। उनलाई तत्कालीन आपूर्ति मन्त्री ईश्वर पोखरेलले नै त्यहाँ लगेका थिए।

त्यसैगरी कोइरालालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पनि बनाइएको थियो। त्यहाँबाट उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन खोजे पनि असफल भएका थिए।

मध्यपश्चिममा उपकुलपति बन्नुअघि उनी साबिकको उच्च माध्यमिक शिक्षा परिषदमा उपाध्यक्ष बनेका थिए। त्यतिबेला कम गुणस्तरको उत्तरपुस्तिका छपाइदेखि प्रशासनिक काममा समेत विवादित भएका थिए ।