आचार्य र शाक्यलाई विश्वासको मत नदिनेलाई नंग्याउने ईश्वर पोखरेलको चेतावनी - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

आचार्य र शाक्यलाई विश्वासको मत नदिनेलाई नंग्याउने ईश्वर पोखरेलको चेतावनी



मोरङ- एमाले महासचिव ईश्वर पोखरेलले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्‍वासको मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले आचार्य र शाक्यलाई विश्वासको मत नदिनेलाई नंग्याउने चेतावनी समेत दिए ।

विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै पोखरेलले दुवै प्रदेशमा एमालेले विश्‍वासको मत प्राप्त गर्ने दाबी गरेका हुन् । ‘एमालेले विश्‍वासको मत प्राप्त गर्छ, गर्न सक्छ र गर्नुपर्छ,’ उनले भने, ‘जसले विश्‍वासको मत दिँदैन, ऊ नांगिएर जान्छ ।’

प्रदेश १ मा एमाले छाडेर १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्न निर्वाचन आयोगको कार्यालय प्रदेश १ मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य अल्पमत परेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत कायम रहेको एमाले ५१ प्रदेश सांसदबाट ४१ सांसदमा खुम्चिएको छ ।

यस्तै, १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा ५६ सदस्यसहित एकल बहुमत रहेको एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । महासचिव पोखरेलले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रस्तुत हुने बताए ।

‘एउटा प्रक्रियामा एमसीसीको प्रस्ताव सदनमा रहेको छ तर यसअघि सभामुखज्यूले के भनेर रोक्नुभएको थियो र अहिले के भनेर सदनमा प्रस्तुत गर्नुहुन्छ, हेरौं,’ उनले भने, ‘सदनमा प्रस्तुत गरेपछि एमालेले आफ्नो दृष्टिकोण बनाउँछ ।’

पोखरेलले पार्टीको केन्द्रीय कार्ययोजनाअनुसार ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र पार्टीभित्रका असमझदारी हटाएर अघि बढ्ने बताए ।