को हुन् स्मृति इरानी, जसले कांग्रेस अध्यक्ष राहुललाई नै हराइन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

को हुन् स्मृति इरानी, जसले कांग्रेस अध्यक्ष राहुललाई नै हराइन्



नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारकी निवर्तमान मन्त्री स्मृति इरानीले अमेठीको अभेद्य मानिने कंग्रेस आईको किल्लामै सो पार्टीका अध्यक्ष राहुल गान्धीलाई यस पटकको निर्वाचनमा हराएकी छन् । बिहीबार भएको मतगणनामा उनले ५५ हजार १२० मतले राहुललाई हराएकी हुन् ।

पहिला राहुल गान्धी तीनपटक सो क्षेत्रबाट सांसद भएका थिए । त्यो भन्दा पहिला सोनीया गान्धी पनि त्यहीँबाट निर्वाचित भएकी थिइन् । त्यसभन्दा अझ अघि राहुलका काका सञ्जय गान्धी र त्यसपछि पिता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीले सो क्षेत्रलाई गान्धी परिवारको सिटको रुपमा विकास गरेका थिए । राजीव पनि सो क्षेत्रबाट तीन पटक चुनिएका थिए ।

तर, आफ्नो दोस्रो प्रयासमा पूर्वअभिनेत्री स्मृति इरानीले यो सिट गान्धी परिवारबाट छिनेर लिन सफल भएकी छन् । स्मृति २०१४ मा राहुलसँग सोही क्षेत्रमा निर्वाचन हारेकी थिइन् । त्यतिबेला भन्दा यसपालि उनी बलियो ढंगले अमेठी जाँदैछन् भन्ने धेरैले पहिल्यै सोचेका पनि थिए ।

तर यसरी राहुललाई नै पछार्लिन् भन्ने कसैले ठानेका थिएनन् । इरानी सन् २०१४मा बनेको मोदी सरकारमा पहिला मानव संशाधन मन्त्री थिइन् र पछि सूचना प्रसारण र कपडा मन्त्री पनि भइन् । यस अवसरमा उनको पढाई र मानव संशाधन मन्त्रीको हिसाबले दिएको अभिव्यक्तिका कारण पनि उनी विवादमा आइन् । खासगरी उनले रोहित वेमुला आत्महत्या प्रकरणमा जसरी डिल गरिन् त्यसले उनी आलोचनाको निशानामा परेकी थिइन् । यसको बाबजुद पनि उनी सुष्मा स्वराज र निर्मला सीतारमण जस्तै केन्द्रीय मन्त्रिमण्डलमा रहन सफल भइरहिन् ।

मोदीविरुद्धको अनशन

‘सास भी कभी बहू थी’ नामको टीभी सिरियलमार्फत घरघरमा पहिचान बनाएकी स्मृति सन् २००३ मा भाजपाको सक्रिय राजनीतिमा आइन् । यद्यपि कम मानिसलाई मात्रै थाहा छ कि इरानीले नरेन्द्र मोदीविरुद्ध अनशन समेत बसेकी थिइन् । सन् २००४ मा स्मृति पार्टीमा भर्खरै आएकी थिइन् । पार्टीको टिकटमा उनी दिल्लीको चाँदनी चोक लोकसभा चुनावमा हारिसकेकी थिइन् ।

त्यहीबेला उनले गुजरातमा भएको दंगालाई लिएर प्रदेशका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेकी थिइन् । तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीको केही पटक नाम लिएर उनले नरेन्द्र मोदीले पद नछोडेको देखेर आफू हैरान भएको बताएकी थिइन् । तर पार्टी हाइकमाण्डका तर्फबाट उनलाई तुरुन्तै एक सन्देश पठाएर आफ्नो भनाई फिर्ता लिन आग्रह गरियो । फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिइएको थियो । त्यसपछि उनले बिनाशर्त आफ्नो भनाई फिर्ता लिएकी थिइन् ।

राम्रो वाक कला

भाजपाको राजनीतिका पुराना जानकारहरुका अनुसार स्मृति इरानीलाई राजनीतिमा ल्याउनमा प्रमोद महाजनको हात थियो । सन् २००६ मा उनको हत्या भएपछि स्मृतिको राजनीतिमा गति पनि घटेको थियो । केही समय उनले पार्टीभित्र चुपचाप काम गरिन् । साथै उनले आफ्नो वाक कौशललाई प्रयोग गर्दै छुट्टै पहिचान पनि बनाएकी थिइन् ।

यसपछि इरानी महाराष्ट्र भाजपाको महिला मोर्चा अध्यक्ष नियुक्त भइन् । २००९ को लोकसभा चुनावमा उनलाई टिकट दिइएन । तर, तीन चारवटा भाषामा भएको पकडलाई प्रयोग गर्दै उनले देशैभरी पार्टीको प्रचार गरिन् । २०१० मा जब नीतिन गडकरी भाजपाका अध्यक्ष बने, स्मृतिलाई पार्टीको राष्ट्रिय महिला मोर्चाको कमान्ड सम्हाल्न दिइयो ।

त्यसको एकवर्षमा नै उनी गुजरात राज्यसभा सांसद चुनिइन् । त्यो बेलामा उनी प्रदेशको राजनीतिमा पनि सक्रिय भएकी थिइन् । उनी खुला ढंगले मुख्यमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्न थालिन् । कतिपय जानकारहरुले यो पनि भन्छन् कि पार्टीमा पहिचान बढाए पनि उनले कतिपय क्षेत्रमा लिंगभेदको सामना पनि गर्नुपर्यो । उनलाई आफ्नो वाककलाबाट फाइदा भयो र उनी राष्ट्रिय प्रवक्ता पनि बनिन् । टीभीमा पहिला नै देखिने स्मृति भाजपामा चर्चित मुहार भइसकेकी थिइन् ।

अमेठीको लडाईं

सन् २०१४को आम चुनावमा जब भाजपा नरेन्द्र मोदीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनाव लड्दै थियो पार्टीले स्मृतिलाई राहुल गान्धीको विरुद्ध लड्न अमेठी पठायो । त्यतिबेला तेस्रो प्रत्यासीका रुपमा आम आदमी पार्टीका कबि कुमार विश्वासको पनि मिडियामा निकै चर्चा थियो ।

सन् २००९ मा भाजपालाई अमेठीमा ३७ हजार मत मात्रै आएको थियो । यो हिसाबले स्मृतिका लागि निकै चुनौतीपूर्ण अवस्था पनि थियो । तर, त्यो क्षेत्र उनको लागि नौलो थियो र स्थानीय भाषा पनि जान्दिन थिइन् । उनले चुनावमा गान्धी परिवारको सिट भएका कारण बितेका १० वर्षमा केही पनि हुन नसकेको आरोप लगाएकी थिइन् ।

उनी जनताको घरघरमा पुगेकी थिइन् । महिलासँग संवाद अघि बढाइन् । स्थानीय तहमा चर्चा पाउनका लागि भुईँमा पनि बसेकी थिइन् ।

डिग्री विवाद

चुनाव हारेपछि पनि राहुलसँग टक्कर लिएका कारण उनलाई नै फाइदा भएको थियो । त्यसैले उनलाई केन्द्र सरकारको मन्त्री नै बनाइयो । यद्यपि उनको शिक्षालार्ई लिएर विवाद शुरु भयो । स्मृति इरानीले चुनावको समयमा दाखिल गरेको शपथपत्रमा शिक्षाको बारेमा गलत जानकारी दिएको आरोप लाग्यो ।
उनले एक चुनाव शपथपत्रमा दिल्ली विश्वविद्यालयबाट सन् १९९६ मा कलामा स्नातक भएको कुरा गरिन् । त्यसको ब्राकेटमा तीन वर्षको डिग्री कोर्ष पूरा नगरेको उल्लेख गरिएको थियो ।

उनले दोस्रो शपथपत्रमा सन् १९९४ मा दिल्लीको स्कूल अफ ओपन लर्निङबाट बिकम पहिलो भागको परीक्षा दिएको जानकारी गराएकी थिइन् । तर, २०१९ को चुनावको नामांकनको समयमा उनले आफूले ग्राजुएसन नगरेको जनाएकी थिइन् ।

रोहित वेमुलाको आत्महत्या

हैदरावाद युनिभर्सिटीमा दलित शोध छात्र रोहित वेमुलाको आत्महत्यापछि स्मृति इरानी विपक्षीको निशानामा परेकी थिइन् । उनको मन्त्रालयलले केन्द्रीय मन्त्री बंडारु दत्तात्रेयको उजुरीको हवाला दिँदै आरएसएसको छात्र संगठन एबीवीपीका एक नेतालाई पिटेको आरोपममा युनिभर्सिटीलाई कारवाही गर्न भनेको थियो । यसपछि युनिभर्सिटीले पाँच दलित छात्रलाई निश्कासित गरेको थियो । निश्कासित छात्रलाई छात्रावासबाट पनि निकाल्ने काम भयो । त्यसपछि रोहित वेमुलाले आत्महत्या नै गरेका थिए ।

रोहितको आत्महत्याले इरानीलाई संसदमा बयान समेत दिनुपरेको थियो । उनको बयानमा पनि विपक्षले उनलाई निशाना बनाएको थियो । उनीमाथि संसदलाई गुमराहमा पारेको आरोप पनि लागेको थियो ।

सूचना प्रसारणमन्त्री

इरानीलाई जब सूचना प्रसारणमन्त्री बनाइयो । त्यसपछि पनि विवादले छोडेन । उनले पद सम्हालेपछि सूचना प्रसारण मन्त्रालयमा तैनाथ भारतीय सूचना सेवाका तीन दर्जन भन्दा बढी अधिकारीलाई सरुवा गर्ने काम भयो । जसमा यस्ता अधिकारीपनि थिए जो केही महिनामा अवकाश हुँदै थिए । यही विवादका बीच इरानीले गलत रिपोर्टिङ गर्ने पत्रकारलाई दण्डित गर्ने अर्को विवादास्पद सर्कुलर जारी गरेकी थिइन् ।

यसमा पत्रकारको मान्यता रद्ध गर्ने जस्ता कुरापनि राखिएको थियो । मिडिया समूहले यसको विरोध गर्यो । त्यसपछि सर्कुलर जारी भएकै दिन सो सर्कुलर प्रधानमन्त्री कार्यालयले फिर्ता लियो । यस्ता तमाम विवादको बावजुद स्मृति राजनीतिको मैदानमा भिडिरहिन् । उनी सायद यो सम्झन्थिन् कि खासमा अमेठीमा उनको कार्ड प्रयोग हुन सक्थ्यो । (बीबीसीबाट)