कोलकाता, बेङ्लोर र राजस्थान : ‘वान मिस गेम फिनिस’
भारतमा जारी यो चरणको आइपिएल अघिल्लो अघिल्लो वर्ष भन्दा फरक र रोचक बन्दै गएको छ । आइपिएलको उपाधिका दावेदार मानिएका केहि समुहहरुको भाग्य र खेल दुवै चम्किन नसक्दा खेलले फरक मोड लिएको छ ।
बिहिबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि जारी आईपिएलको प्लेअफ समिकरण रोचक बनेको छ।
लिगमा राजस्थानको यो चौथो जित हो। ११ खेलबाट उसले ८ अंक जोडेको छ। अंकको आधारमा उसले कोलकाता र रोयल च्यालेन्जर्स बेङ्लोरसँग बराबरी गरेको छ।
अब यी तीनै टोलीका लागि प्लेअफ पुग्न एउटै गणितिय योगले सहयोग गर्छ र त्यो हो आफ्नो हरेक खेलमा जितको नतिजा र अर्को तर्फ आफूबाहेक अरू हारोस् भन्ने कामना।
आईपिएलमा हालसम्म चेन्नईमात्र प्लेअफमा पुगेको छ। उसले १२ खेलमा ८ मा जित हासिल गरेको छ। लिगमा उसले १६ अंक जोडेको छ।
यस्तै दिल्लीको १४ अंक छ भने मुम्बईको पनि १४ अंक रहेको छ। दुबै प्लेअफको दौडमा बलियो अवस्थामा छन्। हैदराबाद र पंजाबको समान १०-१० अंक रहेको छ। यसको अर्थ यी दुई टोलीको हाल कोलकाता, बेङ्लोर तथा राजस्थानको भन्दा राम्रो तर धेरै राम्रो छैन।
आईपिएल-१२ मा १६ अंक जोड्ने टोलीले प्लेअफ खेल्ने निश्चित छ। यदि यसमा कम अंक जोडिएर अन्यथा समिकरण लागु हुँदा रनरेट महत्वपूर्ण हुन्छ। योसँगै यस सिजनमा ४ या ५ टिमले १४ भन्दा बढि अंक जोड्ने निश्चित छ।
यसले १४ अंक जोड्ने टोली प्लेअफ दौडमा कायम रहनेछ।
कोलकाता, बेङ्लोर तथा राजस्थान समान ११-११ खेलबाट समान ८-८ अंक जोडेका छन्। यस अवस्थामा आफ्ना बाँकी ३ खेलमा जुन टोलीले तीनै खेल जित्छ, ऊ प्लेअफको दौडमा कायम रहनेछ भने मात्र एक हारमा उनीहरू यस दौडबाट बाहिरिनेछन्।
यहि समिकरणले गर्दा यी तीनै टोली ‘गर या मर’को अवस्थामा पुगेका छन्।
बाँकी ३ खेलमा कोलकाताले दुईपटक मुम्बईको सामना गर्नुपर्नेछ भने एक म्याचमा पंजाबको सामना गर्नुपर्नेछ। यस्तै राजस्थानले दिल्ली, बेङ्लोर तथा हैदराबाद खेल्नेछ भने बेङ्लोरले राजस्थान, दिल्ली तथा हैदराबादसँग।