बिमा कम्पनीका हर्कत गर्नेलाई भन्दा सुन्नेलाई लाज ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिमा कम्पनीका हर्कत गर्नेलाई भन्दा सुन्नेलाई लाज !



किङ खनाल

नेपालमा लामो इतिहास बोकेको बिमा व्यवसायले जनताको विश्वास जित्न सकेको छैन तर बिमा गर्ने कम्पनी भने थपिरहेका छन् । ठुला ठुला व्यापारिक घरानाको पहिलो रोजाई बैङ्क र बिमा व्यवसाय बन्न थालेको छ । व्यापार नहुँदा पनि यसरी दिनहुँ कम्पनी थपिनु, ठुला व्यापारिक घरानाले यसै व्यापारमा रुचि राख्नुले पक्कै केही त छ बिमा भित्र जो साधारण मान्छेले देखेका छैनन् ।

संसारमा बिमा सम्बन्धी निकै वैज्ञानिक र नुतन अभ्यास भइरहेका छन् तर नेपालमा १९औं शताब्दीकै पारामा यसलाई प्रयासमा ल्याइएको छ । नेपालमा ७० वर्ष भन्दा पहिले सुरु भएको बिमामा खासै नयाँ, आशा लाग्दो र जनतालाई फाइदा हुने केही पनि देखिँदैन ।

कम्पलिले प्लान आफ्ना दलाल मार्फत बजारमा लैजान्छन्, साधारण जनता सम्मलाई यसबाट दलालले कति कमिसन पाउँछन् भन्ने जानकारी छ । यति मात्रै होइन धेरैजसोले त बिमाको तालिम शुद्ध लिएका छन् ।

नेपालमा प्रमुख १५ व्यवसायमा यो पर्छ, यसको मतलब नेपालमा हुने कारोबार मध्य धेरै कारोबार गर्ने १५ व्यवसायमा बिमा पर्छ । एक कम्पनीले कम्तीमा १ सय भन्दा बढी कर्मचारी पालेको हुन्छ, तलब र सुविधा पनि बिमामा राम्रै छ, बेलाबेलामा कम्पनीहरूले ठुला कार्यक्रम गरेर घर र गाडी बाँडेको पनि देखिन्छ, सेयर धनीले पनि राम्रै बोनस थाप्छन् तर यसको गतिलो रहस्य के छ भने नेपालमा जम्मा १० प्रतिशत जनताले पनि बिमा गरेका छैनन् ।

यति थोरै व्यापार हुँदा पनि ३९ वटा कम्पनीले कामदार पालेकै छन् । ठुला ठुला होटेलमा कार्यक्रम पनि गरेकै छन्, बोनस र उपहार पनि बाँडेका छन्, ठुला ठुला मिडियामा करोडौँको विज्ञापन पनि गरेकै छन् । यसरी हेर्ने हो भने यो जनता झुक्क्याउने खेलो भन्दा अरू केही देखिँदैन ।

नेपाललाई छाडेर दुनियाँ तिर फर्केर हेर्ने हो भने बिमा निकै पवित्र व्यवसायको रूपमा देखिन्छ, जनतालाई फाइदा हुने गरी प्याकेज तयार गरेर सर्वसाधारण समक्ष पुगेका पनि छन् । थोरै पैसामा राम्रो बिमा सुविधा दिनको लागि अनुसन्धान गरिरहेका देखिन्छन्, एक पल्ट पैसा बुझाएपछि जिन्दगीभरिलाई बिमा सुविधा दिएका छन् । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि १०औ वर्ष अगाडी नै सामान्य भन्दा सामान्य परिवारले पनि बिमा गर्न सक्ने प्रणाली छ । तर नेपालमा भने सामान्य मान्छेले बिमाको बारेमा बुझ्न पनि नसक्ने अवस्था छ, बिमा गर्न त परे जावस ।

उदाहरणको लागि तपाईँले बिमा गर्नुभयो भने १ लाखको बिमा गर्दा किस्ताबन्दीमा पैसा बुझाउनुपर्छ कुनै बैङ्क वा साहुबाट ऋण लिएकोजस्तै १ लाखको बिमा गर्दा तोकिएको समयमा १ लाख नै कम्पनीलाई बुझाउनुपर्छ अनि मात्रै तपाइले यसमा बोनस थपेर फिर्ता पाउनुहुन्छ । बोनस पनि बैङ्कको र सहकारीको ब्याज भन्दा कम छ । राम्रो बोनस दिने कम्पनीले प्रतिहजार ८० बोनस दिन्छ नेपालमा यसलाई प्रतिशतमा ढाल्दा जम्मा ८ प्रतिशत मात्रै हुन्छ । तर जनता झुक्क्याउन बोनस ८० भनेर देखाइन्छ । अहिले बैङ्कले मुद्दतिमा १२ प्रतिशत सम्म ब्याज दिन्छन् सहकारीले भने १५ देखि २० प्रतिशतसम्म दिन्छन् । बिमालाई यसरी हेर्दा सरासर ठगी नभएर के हो त ?

सरसर्ती हेर्दा यो कुनै पंचायतकालमा गाउँमा हुने कारोबार भन्दा कम छैन । साहु महाजन र सर्वसाधारणको कारोबार जस्तो ।

कुनै व्यक्तिले बिमा गर्दा उसलाई कम्पनीका दलालले पिछा गर्छन्, मरिहत्ते गर्छन्, रोगी मान्छेको फर्जी मेडिकल रिपोर्ट बनाएर पनि बिमा गर्दिन्छन् तर तपाईँले कम्पनीबाट पैसा फिर्ता लिँदा भने १० पल्ट धाउनुपर्छ । उस्तै परे सोर्स फोर्स पनि प्रयोग गर्नुपर्छ । निर्जीवन बिमाको कुरा गर्ने हो भने त बिमा रकम निकाल्न प्रलय नै हुन्छ । जस्तै तपाईँले आफ्नो गाडीको बिमा गर्नुभयो गाडीमा क्षति भयो वा हरायो भने यो बिमा बाफतको पैसा निकाल्न भन्दा तपाईँलाई कमाएर किन्न सजिलो हुन्छ ।

यो मात्रै होइन नेपालमा बिमा ब्यबसायालई नियमन गर्ने निकाय छ बिमा समिति । यो समिति पनि बिमा व्यवसायले जनताको मन जित्न नसक्ने प्रमुख कारण हो । यातायात क्षेत्रमा लगाएको सिन्डिकेट जस्तै बिमा समिति पनि सिन्डिकेट लाद्ने निकाय हो । होइन भने जनतालाई कसरी सुविधा दिने र सबैको बिमा गराउन सक्ने वातावरण मिलाउन बिमा समितिलाई कसले छेकेको छ ।

बिस्तारमा हेर्नेहो भने बिमा कम्पनीका हर्कत लाजमर्दो नै देखिन्छन् ।

अब भन्नुहोस के नेपालको बिमा प्राक्टिस ठिक छ ?