विश्वकप: इङ्ल्यान्ड र क्रोएसियाको महासंग्राम, कसको भाग्य चम्केला ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विश्वकप: इङ्ल्यान्ड र क्रोएसियाको महासंग्राम, कसको भाग्य चम्केला ?



काठमाडौं। रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् ।

यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ ।

ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ ।

जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ ।

उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।

रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरका बनाएका छन् ।

यी दुई टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ ।

दुई टोली एक आपसमा ८ पटक भिडेका छन् । जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया दुई पटक विजयी भएको छ ।

बाँकी दुई खेल बराबरीमा सकिएका छन् ।