इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ



मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका छन्। लगातार दुई जितपछि इङ्ल्यान्ड समूहमा एक खेल खेल्न बाँकी रहँदै नकआउट चरण पुग्ने निश्चित भईसकेको छ।

इङ्ल्यान्डले विश्वकपको एकै खेलमा यतिधेरै गोल गरेको पहिलो पटक हो। उसले यसअघिका विश्वकप खेलमा तीन गोलभन्दा बढीको गोलअन्तरमा जित पनि हात पार्न सकेको थिएन। प्रतियोगिताको सुरुवातमा इङ्ल्यान्डलाई उपाधि दावेदार नमानिएपनि युवा खेलाडीले भरिएको यो टोली लगातार जितपछि बलियो छाप छाड्न सफल भएको छ।

चेल्सीका पुर्व मिडफिल्डर समेत रहेका लाम्पार्डले भने- हामी क्वाटरफाइनल पुग्नैपर्छ भनेर प्रतियोगितामा यात्रा सुरु गर्दा किन नकारात्मक हुन्छौं ? मलाई लाग्छ हामी उपाधि जित्न सक्छौं। सुरुवातीरुपमा टिमको प्रदर्शनले यो देखिएको पनि छ। बाहिरबाट हामीले हेर्दा इङ्ल्यान्डले विश्वकप जित्ने वास्तविक सम्भावना छ। तर खेलाडी र टिमले हरेक खेलमा केन्द्रित हुनुपर्छ।’

पनामालाई फराकिलो अन्तरलाई पराजित गर्दा कप्तान हेरि केनले ह्याट्रिक गरे। उनी विश्वकपमा ह्याट्रिक गर्ने समग्रमा तेस्रो इङ्लिस फुटबलर हुन् भने ३२ वर्षपछि विश्वकपमा इङ्लिस खेलाडीले यो सफलता हात पारेका हुन्। दुई खेलमा पाँच गोल गरिसकेका २४ वर्षीय केन जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुभन्दा समान एक गोलले अगाडि रहँदै शीर्षस्थानमा छन्।

इङ्ल्यान्डले सन् १९६६ को विश्वकप जितेको थियो। त्यसयता उसले अन्तिम पटक सन् १९९० को विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको थियो। गत विश्वकपमा भने समूहगत चरणबाटै बाहिरिएको थियो। १५ वर्ष इङ्ल्यान्डको टिमबाट खेलेका लाम्पार्डले एक सय ६ अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका छन्।