इंग्ल्यान्ड भर्सेस स्विडेनः भाग्यको फैसला यसरी हुँदैछ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इंग्ल्यान्ड भर्सेस स्विडेनः भाग्यको फैसला यसरी हुँदैछ !



अहिलेसम्म इंग्ल्यान्ड र स्विडेनबीच विश्वकपमा समूह चरणमा मात्र प्रतिस्पर्धा भएको छ। अन्तर्राष्ट्रिय खेलमा २४ पटकको भेटमा इंग्ल्यान्डले ८ र स्विडेनले ७ पटक जित निकालेका छन्।

विश्वकप फुटबलमा इंग्ल्यान्ड र स्विडेन सेमिफाइनल प्रवेशका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन्। इंग्ल्यान्डले प्रिक्वार्टरफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराएकोे थियो । स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले निराश पार्दै क्वार्टरफाइनल स्थान बनाएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

इंग्ल्यान्ड र स्विडेन विश्वकपमा अनपेक्षित टिमका रूपमा रहेका छन् । अब दुईमध्ये एक टिमले अन्तिम ४ मा स्थान बनाउनेछ । स्विडेन १९९४ पछि सेमिफाइनल पुग्न सकेको छैन । २४ वर्षपछि पुनः इतिहास बनाउने ध्याउन्नमा स्विडेन हुनेछ।

इतिहास दोहोर्याउने लक्ष्य
इंग्ल्यान्डले सन् १९६६ मा आयोजक राष्ट्रका रूपमा उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड उपाधिविहीन छ । यसपटक इंग्ल्यान्डसमक्ष दोस्रोपटक च्याम्पियन हुने राम्रो मौका छ । स्विडेनलाई हराउँदा इंग्ल्यान्ड उपाधिनजिक पुग्नेछ । इंग्ल्यान्ड र स्विडेनले सेमिफाइनलमा क्रोएसिया र रसियामध्ये एक प्रतिद्वन्द्वी पाउनेछन् । इंग्ल्यान्ड र स्विडेनलाई यसपटक फाइनल प्रवेश तुलनात्मक रूपमा सहज छ।

लय समाउने चुनौती
स्विडेन जारी प्रतियोगितामा आफ्नो बलियो लयमा देखिएको छैन। स्विट्जरल्यान्डविरुद्धको खेलमा अधिकांश समय दबाबमै रहे पनि स्कोर निकाल्दा क्वार्टरफाइनल सम्भव भयो।

इंग्ल्यान्डलाई हराउन स्विडेनले ठूलो मिहिनेत गर्नुपर्नेछ । बलियो डिफेन्स लाइन र छरितो फर्वार्डमा विश्वास गर्ने स्विडेन यसपटक तुलनात्मक रूपमा अस्थिर देखिएको छ । समूह चरणमा जर्मनीसँग पराजित भएयता स्विडेनले एक गोल पनि खाएको छैन । तर, उसको चुनौती भने घटेको छैन।

चिरपरिचित प्रतिद्वन्द्वी
इंग्ल्यान्ड र स्विडेन एक–अर्काविरुद्ध परिचित प्रतिद्वन्द्वी हुन्। २४ पटक एक–अर्काविरुद्ध भिड्दा इंग्ल्यान्डले ८ र स्विडेनले ७ पटक जित निकालेका छन् । दुईबीच ९ पटक बराबरी भएको छ । विश्वकपमा ४ पटक आमने–सामने भएका इंग्ल्यान्ड र स्विडेनबीचको खेल केवल समूह चरणमा मात्र सीमित रह्यो।

समूह चरणमा यी दुईले बराबरी नतिजा निकालेका छन् । २००६ मा भएको विश्वकप भिडन्तमा २–२ गोलको बराबरी खेलेका थिए।