इंगल्याण्डमाथि भारतको जित, बने रमाइला किर्तिमान - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

इंगल्याण्डमाथि भारतको जित, बने रमाइला किर्तिमान



काठमाडौं । टी–२० क्रिकेटमा भारतले पहिलो पटक इंगल्याण्डलाई उसको भूमिमा हराएको छ । मंगलबार राति म्यान्चेस्टरमा भएको खेलमा ८ विकेटले पराजित गर्दै पूर्व विश्वकप विजेताले इंगल्याण्डलाई हराएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको इंगल्याण्डले ८ विकेटको नोक्सानीमा १५९ रन बनायो । जोस बटलरले ६९ रन बनाए । तीन खेलाडी डक आउट भए ।

कुलदीप यादवले करियरको उत्कृष्ट बलिंग गर्दै ५ विकेट लिए । उनी टी–२० मा ५ विकेट लिने तेस्रो भारतीय तथा पहिलो बायाँ हाते बलर बनेका छन् ।

जवाफमा भारतले लोकेश राहुलको नटआउट १०१ रनको मद्धतले १८.२ ओभरमा २ विकेटको नोक्सानीमा जित पायो ।

रोहित शर्माले ३२ र विराट कोहलीले २० रन बनाए । यो जितपछि भारतले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

यो खेलपछि केही रमाइला कीर्तिमान बने । विराट कोहलीले टी–२० मा २००० रन जोडे ।

कुलदीपले एक हप्तामै ३ खेलबाट १२ विकेट लिएर कीर्तिमान रचे । भारतले पहिलो पटक इंगल्याण्डलाई उसकै भूमिमा हरायो ।

महेन्द्र सिंह धोनी टी–२० मा स्टम्प गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् । धोनीले ३३ स्टम्प गरे । यसअघि पाकिस्तानी कमरान अक्मलले ३२ स्टम्प गरेका थिए ।

पहिलो विकेटको साझेदारीमा पनि भारतले कीर्तिमान रचेको छ । रोहित शर्मा र शिखर धवनले पहिलो विकेट साझेदारी कीर्तिमान १११० बनाएका छन् ।

यसअघि अष्ट्रेलियाका डेभिड वार्नर र शेन वाट्शनको नाममा ११०८ रनको कीर्तिमान थियो । यो खेलमा शिखर धवनले ४ रन मात्र बनाए ।
दोस्रो खेल शुक्रबार हुनेछ ।