आहा ! फिफाका अध्यक्ष इन्फान्टिनो नेपाली ढाका टोपीमा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आहा ! फिफाका अध्यक्ष इन्फान्टिनो नेपाली ढाका टोपीमा



काठमाण्डौ –फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् ।

पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै अखिन नेपाल फुटबल संघ(एन्फा)को टोलीले नेपाली ढाका टोपी लगाइदिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाका नवनिर्वाचित अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै नेपाली ढाका टोपी लगाइदिएका हुन् ।

नेपाली टोलीमा एन्फा अध्यक्ष शेर्पासहित वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्कालगायत रहनुभएको थियो ।

फ्रान्सको पेरिसमा सम्पन्न फिफा कंग्रेसले वर्तमान अध्यक्ष जियान्नी इन्फान्टिनोलाई दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरेको हाे ।

कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले ‘आपराधिक गतिविधिको जञ्जाल’ बाट फुटबललाई यसको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको प्रतिक्रिया दिए ।

यसअघि हिजो बसेको कंग्रेसले एकमात्र उम्मेद्वार रहेको अवस्थामा मतदान आवश्यक नरहने भनेर संशाेधन गरेको थियो । ४९ वर्षे अधिवक्ता इन्फान्टिनोले पहिलो कार्यकालमा दिएको आश्वासन पूरा गर्न प्रयास गर्नेछन् । पहिलो कार्यकालमा फिफा सदस्यहरु नै उनको काम प्रति सन्तुष्ट देखिएका छैनन् ।

‘अहिले कसैले पनि फिफाको संक्रमणका बारेमा कुरा गरेका छैनन् । भ्रष्टाचारका प्रकरणहरु पछिल्लो चार वर्षमा कतै पनि सुनिएन । फुटबल सकारात्मक दिशातर्फ अघि बढेको छ’, इन्फान्टिनोले फिफा कंग्रेसमा भने ।

इन्फान्टिनोले आफ्नो कार्यकालमा भएका ११ वटा सकारात्मक कार्यक्रमको व्याख्या गरे । जसमा आर्थिक पाटो, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिडियो एसिस्टेन्ट रेफ्री, क्लब विश्वकपमा २४ टिमको सहभागिताको निश्चिततालगायतका कार्यक्रमहरुले विश्व फुटबललाई अझ व्यापक बनाएको दाबी गरेका थिए । उज्यालोको सहयोगमा