भारतमा बेच्न राखिएकी एक मुस्लिम महिलाको कथा
नयाँ दिल्ली । हिबा बेग अमेरिकामा स्नातक अध्ययन गर्छिन् । उनी सप्ताहन्तमा दिल्लीस्थित आफ्नी हजुरआमाको चिहानमा घुम्दै थिइन् । त्यसै बेला उनले आफू त अनलाइन ‘बिक्री’मा रहेछु भन्ने थाहा पाइन्, त्यो पनि उच्च बोलीकर्ताको लागि ।
यो पहिलोपटक भने थिएन । बरु, एक वर्षभन्दा कम समयमै दोस्रोपटक थियो । उनको (मोबाइल) स्क्रिन साथीहरूको दर्जनौँ कल र म्यासेजहरूले भरिएको छ । सबै साथीहरूले ‘फेक अक्सन साइट’ बुली बाई एपमा क्रिएट गरिएको उनको प्रोफाइलको स्क्रिनसट सेयर गरेका छन् ।
अनलाइनमा सक्रिय रहेकी पूर्वपत्रकार बेग एक्लो भने होइनन् । कलाकार, पत्रकार, अभियन्ता र वकिलहरूसहित १०० भन्दा बढी मुस्लिम महिलाहरूको अनलाइन तस्बिर उनीहरूको स्वीकृतिबिना बुली बाई एपमा दुरुपयोग गरियो । शनिबार राखिएका तस्बिरहरू २४ घण्टाभित्रै हटाइयो पनि ।
गएको जुनमा सुली डिल नामक यस्तै एप देखापरेको थियो । सुली–बुली यी दुवै शब्द मुस्लिम महिलालाई हियाउन प्रयोग गरिने अपमानजनक शब्द हुन् । त्योचाहिँ एक हप्तासम्म रह्यो र पीडितहरूबाट उजुरी परेपछि मात्रै हटाइयो । त्यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु त गर्यो, तर कसैमाथि पनि अभियोग लगाइएन ।
भारतको ‘अनलाइन स्पेस’ महिलाहरूको दुर्व्यवहार र उत्पीडनले भरिएको छ । तर, ती दुई ‘अक्सन’ले भर्चुअल बुलिङ (अत्याचार÷बदमासी)को संगठित प्रकृतिको बारेमा चिन्ता बढाएको छ । महिलाको प्रतिष्ठामा धब्बा लाग्ने र विशेषगरी यौन हिंसासहित हिंसाका धम्कीहरू महिलालाई चुप लगाउन कसरी प्रयोग गरिन्छ भन्ने देखाएको छ । अझ प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिहरूको आलोचना गर्ने महिलाहरू निसानामा पर्ने गरेका छन् ।
“अन्यायको विरुद्ध आवाज उठाउने मुस्लिम महिलाहरूलाई सार्वजनिक जीवनबाट पछि हट्न बाध्य पार्ने उद्देश्यले धम्की दिइन्छ,” कोलम्बिया विश्वविद्यालयमा स्नातक गरिरहेकी २६ वर्षीय बेगले भनिन्, “तर, सबै कुरा भारी भए पनि तपाईं पछि हट्नु हुन्न ।”
हालैका दशकहरूमा भारतका सबैभन्दा ठूला विरोध प्रदर्शनहरूमा मुस्लिम महिलाहरू अगाडि थिए । सन् २०२० को सुरुमा भारतमा कोरोनाभाइरस महामारी तीव्र रूपमा सुरु हुनुअघि मुस्लिमहरूविरुद्ध पूर्वाग्रहको रूपमा हेरिएको नयाँ नागरिकता कानुनको विरोधमा हजारौँले सडक अवरुद्ध गर्दै प्रदर्शन गरे ।
उक्त अक्सनमा समावेश गरिएकी फातिमा नाफिस एक विद्यार्थी कार्यकर्ताकी आमा हुन् । नाफिसकी छोरी पाँच वर्षभन्दा अघि दक्षिणपन्थी विद्यार्थी संगठनका सदस्यहरूसँगको झगडापछि बेपत्ता भएकी छन् । सामाजिक कार्यकर्ता बनेकी एक फिल्मस्टार, एक अनुसन्धानकर्ता र अरू थुप्रै प्रसिद्ध मुस्लिम महिलाहरूलाई अक्सनमा समावेश गरिएको छ ।
ती दुवै एप सान फ्रान्सिस्कोस्थित माइक्रोसफ्टको स्वामित्वमा रहेको ‘ओपन सफ्टवेर डेभलपमेन्ट साइट’ गीत हब (जीआटीएचयुबी)ले होस्ट (नियन्त्रण) गरेको थियो ।
भारतका सांसद एवं विपक्षी दल कांग्रेसका नेता कार्ती चिदम्बरमले ट्विट गर्दै अघिल्लो अक्सनमा सरकारको कारबाहीको कमीले गर्दा जिम्मेवार व्यक्तिहरूले उत्साहित महसुस गरेको भन्दै यसबाट आफू भयभीत भएको बताएका छन् । “मुस्लिमविरोधी दुराचारको खतरनाक परियोजना फिर्ता हुनु अस्वीकार्य छ,” उनले भने ।
सोमबार दक्षिणी राज्य आन्ध्र प्रदेशको प्रहरीले मुस्लिम महिलाको उजुरीको आधारमा धेरै ट्विटर ह्यान्डलहरू र एपका विकासकर्ताहरूविरुद्ध अनुसन्धान सुरु गरेको र आपराधिक उजुरी दर्ता गरेको जनाएको छ ।
तर, धेरै उजुरीहरूमा यसअघिको अनुसन्धानमा प्रगतिको अभावले गर्दा यसमा कारबाही हुन्छ भन्नेमा थोरै मात्र विश्वास भएको बताइएको छ ।
वर्षौँदेखि बेग मोदी नेतृत्वको भारतको सत्तारूढ हिन्दु राष्ट्रवादी र उनीहरूको अल्पसंख्यकविरोधी नीतिहरूको प्रमुख आलोचक हुन् । उनले ट्विटरमा ज्यान मार्ने धम्कीसहित व्यापक इन्टरनेट ट्रोलको सामना गरेकी छन् ।
वर्षौँ दबाब बढ्दै गएपछि हिन्दु राष्ट्रवादीहरूको नीतिहरूमाथि आलोचनात्मक पोस्टहरू बेवास्ता गर्दै सेल्फ–सेन्सर गर्न सुरु गरेको उनले बताइन् । बढ्दो असहिष्णुताको बारेमा आफू चिन्तित भएको उनको भनाइ छ ।
विपक्षी कांग्रेस पार्टीकी सामाजिक सञ्जाल संयोजक हरिबा अमिनलाई पनि अक्सन एममा राखिएको थियो । “हालै अनलाइमा छाइरहेको अल्पसंख्यकविरुद्धको हिंसा र ज्यान मार्ने धम्कीको तथ्यले आफूलाई जागा राख्छ,” उनी भन्छिन्,“अनलाइमा दिइएका धम्कीहरू सडकमा हुने वास्तविक यौन हिंसामा परिणत हुँदैन भन्ने सरकारबाट हामीलाई के ग्यारेन्टी छ ?”